बैशाख २४, २०८२ बुधबार

हल्दिवारीका अध्यक्षलाई बजेट, नीति तथा कार्यक्रम बदर गरेर देखाउन उपाध्यक्षको चेतावनी

सबै घटनाको जिम्मेवारी अध्यक्षले लिनुपर्छ : प्रवक्ता

हल्दिवारी । हल्दिवारी गाउँपालिकाका उपाध्यक्ष डम्बर गिरीले पारित भइसकेको बजेट, नीति तथा कार्यक्रम बदर गरेर देखाउन अध्यक्षलाई चेतावनी दिएका छन् । उनले गाउँ तथा नगरसभा सञ्चालन कार्यविधि –२०७५ बमोजिम पारित गरिएका कार्यक्रम कार्यान्वयनमा लैजाने बताए ।

गाउँपालिकामा आज विहान पत्रकार सम्मेलन गर्दै गिरीले हल्दिवारीमा भएको घटनाको सम्पूर्ण जिम्मेवारी अध्यक्ष रविन्द्र लिङ्देनले लिनुपर्ने बताएका छन् । उनले पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्षकै आयोजनामा भएका तोडफोडको जिम्मेवारी उनैले लिनुपर्ने बताए ।

हल्दिवारीका जनताको अभिमतलाई अध्यक्षले अपमान गर्दै तिघ्राको बलमा विभिन्न गतिविधि गर्देै आएको उनको भनाइ छन् । यहाँ तिघ्राको बलले जनताको सपना पुरा हुँदैन, उपाध्यक्ष गिरीले भने – राजतन्त्र त देशमा विलाइसकेको छ, तपाईहरु कुन भ्रममा हुनुहुन्छ ?

उनले गाउँसभामा अध्यक्षको हर्कतले तमाम हल्दिवारीबासीलाई दुःखी बनाएको जानकारी दिए । पत्रकार सम्मेलनमा उनले गाउँसभामा अध्यक्ष नियोजित रुपमा सहभागि भएको आरोप लगाएका छन् । उपाध्यक्ष गिरीले आर्थिक वर्ष ०७७/७८ को बजेट , नीति तथा कार्यक्रम कार्यविधि बमोजिम पारित गरिसकेकाले अब कुनै हालतमा फर्किन नसकिने बताए । अध्यक्षले सभा सकिएको भोलीपल्ट पत्रकार सम्मेलन गर्दै सभा स्थगित गरेको जानकारी गराएका थिए । सभा चलिरहेको बेला छोडेर हिडेका अध्यक्षले दोस्रो दिन स्थगित गर्नु गाउँसभा सञ्चालन कार्यविधि विपरित रहेको गिरीको भनाई छ ।

उनले आर्थिक वर्ष ०७७/७८ का लागि सभाले २९ करोड ६४ लाख ७३ हजारको बजेट ल्याएको समेत पत्रकार सम्मेलनमा जानकारी गराएका छन् । विकासको निम्ति जनताले निर्वाचित गरेको भन्दै गिरीले अध्यक्षका कुण्डले मुण्डलेबाट जनताका सपना पुरा नरोकिने बताए । हामी जनताको निम्ति राजनीति गर्छौ, गिरीले भने – हामी गुण्डागर्दीको आडमा राजनीति गर्दैनौं । उनले गाउँपालिकामा तोडफोड गर्ने विरुद्ध कानुन बमोजिम कारवाही गरिने बताएका छन् ।

सभामा अध्यक्षले आफ्नै टेबल फुटाएर बहादुरी देखाएको उपाध्यक्ष गिरीको भनाई छ । टेबल फुटाउदा उहाँको घडि पनि चुडिएको छ । सभा बाहिर रहेकाहरुले उपाध्यक्षको कार्यलय तोडफोड शुरु गरे लगत्तै अध्यक्षले पनि भित्र तोडफोड गर्न थालेको प्रवक्ता सागर पोर्तेलले जानकारी दिए । अध्यक्षले अक्षम्य काम गर्नुभएको छ, पोर्तेलले भने – सबै घटनाको जिम्मेवारी अध्यक्षले लिनुपर्छ ।
असार ८ गते कार्यपालिकाले पारित गरेको नीति तथा कार्यक्रम बदर गर्न अध्यक्षलाई नैतिकताले समेत नदिने पोर्तेलको भनाई छ । उनका अनुसार अध्यक्षले आफै पारित गरेको नीति कार्यक्रम सभाले पास गरेको हो ।

प्रकाशित मिति : असार १२, २०७७ शुक्रबार  १ : ३२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]