तटबन्धन जोगाउन प्रहरी सक्रिय
बिर्तामोड । जनताको तटबन्धनमा क्षति हुन नदिन प्रहरीले मर्मत सम्भार गरेको छ । झापा गाउँपालिकास्थित वडा नं. ७ को टप्पु टोल र जनता टोलमा प्रहरी संभावित जोखिमलाई मध्यनजर गरी मर्मत गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

कनकाई माइ खोलाले सो क्षेत्रको २२ सय मिटर लामो तटबन्धनमा क्षति पुर्याउन थालेपछि नेपाल प्रहरी, स्थानीय जनप्रतिनिधि र सशस्त्र प्रहरीले संयुक्त रुपमा मर्मत गरेको झापाका प्रहरी प्रवक्ता राकेश थापाले जानकारी दिए ।
स्थानीय नागरिकको समेत जनसहभागितामा माइखोलामा बाढीको जोखिमलाई मध्यनजर गरी जेसिबी प्रयोग गरेर खोलालाई बिच भागबाट बगाउने कार्य भइरहेको छ । जिल्लाको सबैभन्दा ठुलो खोला कनकाई माईले हरेक वर्ष वर्षाममा ठुलो क्षति पुर्याउदै आएको छ ।