नेपालमा सलह कीरा प्रवेशको आशङ्का, मन्त्रालयले खटायो टोली
काठमाडौ । कृषि तथा बोट बिरुवाका लागि निकै घातक मानिएको सलह कीराजस्तै देखिने कीरा तराईका केही जिल्लामा भेटिएपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्राविधिक टोली खटाएर अध्ययन शुरु गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीले बारा पर्सालगायत जिल्लाबाट सलहजस्तै कीरा देखापरेको भन्ने कृषकबाट रिपोर्ट आएपछि अहिले मन्त्रालयबाट चार जना प्राविधिकको टोली त्यस क्षेत्रमा पठाएको र उहाँहरूको प्रतिवेदन आएापछि हो/होइन आधिकारिक रुपमा सार्वजनिक गरिने बताउनुभयो ।

यस्तै, प्रदेश २ का भूमि व्यवस्था, कृषि सहकारीमन्त्री शैलेन्द साहले पनि किसानबाट सहलजस्तै कीरा देखा परेको खबर गेरपछि मन्त्रालयले प्राविधिक टोली त्यसतर्फ पठाएको र उनीहरूको रिपोर्ट आएपछि मात्र यकिन गर्नसकिने बताउनुभयो ।
अफ्रिकी मुलुकमा ठूलो सङ्कटका रुपमा लिइएको सहल छिमेकी देश भारत तथा पाकिस्तानमा पनि यो वर्ष देखापरेका कारण नेपालमा पनि यो कीराको प्रवेश हुने अनुमान गरी नेपालमा रोकथाम कार्यदल गठन गरिएको थियो ।
ठूलो समूहमा आउने यो कीराले पूरै बालीनाली तथा बोट बिरुवा सखाप पर्ने भएकाले यसले कृषि र पर्यावरणमा नराम्रो असर पार्ने बताइन्छ ।