झापाको नौं स्थानमा बिओपी थप गर्ने
बिर्तामोड । सरकारले सीमा सुरक्षाका लागि थप ८९ वटा स्थानमा बीओपी राख्ने तयारी गरेको छ । प्रदेश १ मा ३० वटा र झापामा मात्रै ९ स्थानमा बीओपी थप हुने र्गह मन्त्रालयले जनाएको छ ।

झापाको मेचीनगर – ५ नकलबन्दामा बीओपी तिरिङ, मेनपा –७ ज्यामिरगढीमा बिओपी नकलबन्दा, भद्रपुर –४ मा बिओपी ज्यामिरगढी, गौरीगञ्जमा बिओपि पन्थपाडा, मेनपा –१ तिरिङमा बिओपि आमगाछी, मेनपा –६ मा नेपाल बिओपि काँकडभिट्टा थप गरिने गृहले जनाएको छ । यस्तै झापामा थप हुने बिओपि भद्रपुर र डाँगिबारी, बिओपि महेशपुर र किचकबध, बिओपि कचनकवलका लागि जग्गा खोज्ने कार्य भईरहेको बताइएको छ ।
सशस्त्र प्रहरी बल नेपालले एक सय १४ वटा स्थानमा बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गर्दैछ । तीमध्ये नेपाल–भारत–चीन त्रिदेशीय सीमामा रहेको दार्चुलाको छाङरुसहित २५ स्थानमा बीओपी स्थापना भइसकेका छन् ।
थप हुने बिओपीका लागि कतिपय ठाउँमा जग्गाको पनि टुङ्गो लागिसकेको छ भने केही स्थानमा भाडाको घरमा सशस्त्र प्रहरीले फौज राख्दैछ । गृह मन्त्रालयका अनुसार उत्तरी सीमामा ताप्लेजुङको ओलाङ्चुङगोलामा बीओपी राख्ने तयारी भइरहेको छ । हालै सशस्त्रले चीनतिर हुम्लाको हिल्सा नाकामा पनि बीओपी स्थापना गरिसकेको छ ।
यसअघि संखुवासभाको किमाथांका र मुस्ताङको लामान्थाङमा बीओपी स्थापना भइसकेको छ । सरकारले गत वर्ष मंसिरमा ११४ वटा बीओपी थप्ने निर्णय गरेपछि ती स्थानमा बीओपी राखिएका हुन् ।
त्यसअघि सशस्त्र प्रहरीले एक सय ७ स्थापनामा बीओपी राखिसकेको थियो । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले सशस्त्र प्रहरीलाई थप ५ सय वटा बीओपी राख्ने गरी खाका पेश गर्न भनेका थिए । जसअनुसार सीमामा उपस्थिति बढाउन ९ हजार जनशक्ति थप्नुपर्ने सशस्त्र प्रहरीले गृहलाई बताएको थियो । बादलको प्रस्तावअनुसार सशस्त्र प्रहरीको बीओपी स्थापना भए सीमामा साढे ३ किलोमिटरको फरकमा सशस्त्र प्रहरीको उपस्थिति हुनेछ ।