असार ५, २०८२ बिहीबार

१२४ जनामा कोरोना पुष्टि भएपछि बन्दीपुर सिल

तनहुँ । तनहुँमा थप पाँच जनामा कोरोना भाइरस (कोभिड–१९) बाट सङ्क्रमित भएका छन् । योसँगै जिल्लामा मङ्गलबार सम्ममा सङ्क्रमितको सङ्ख्या १२४ जना पुगेको छ ।

मङ्गलबार व्यास नगरपालिकाले बनाएको क्वारेन्टाइनमा बसेका तीन जना पुरुष र दुई जना महिलामा सङ्क्रमण पुष्टि भएसँगै उक्त सङ्ख्या पुगेको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो । यसैगरी कोरोनालाई जितेर निको भई घर फर्किनेको सङ्ख्या तनहुँका विभिन्न स्थानहरूमा १६ पुगेको छ ।

बन्दीपुर गाउँपालिका सिल
यसैबीच, तनहुँँको बन्दीपुर गाउँपालिकाले आफ्नो क्षेत्रमा असार १६ देखि २२ गतेसम्म बन्दाबन्दी थप गरेको छ । स्वास्थ्य सेवा निर्देशानालय गण्डकी प्रदेश पोखराको पीसीआर रिपोर्ट अनुसार बन्दीपुरका थप नौ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएकोले सङ्क्रमण फैलन नदिन सिल गरिएको गाउँपालिका अध्यक्ष पूर्णसिंह थापाले जानकारी दिनुभयो ।

एक सय एक जनाको स्वाब सङ्कलन गरी परीक्षणको लागि पठाइएकोमा अस्पतालका कर्मचारी र सुरक्षाकर्मी चार जना र क्वारेन्टाइनमा रहेका पाँच जना गरी नौ जनामा सङ्क्रमण देखिएकाले बन्द गर्नुपरेको गाउँपालिकाले जनाएको छ ।

समुदायमा थप सङ्क्रमण फैलनसक्ने स्थितिलाई मध्यनजर गर्दै बन्दाबन्दी थपिएको अध्यक्ष थापा बताउनुहुन्छ । यसअघि पनि गाउँपलिकाले एक साताको लागि बन्दाबन्दी थप गरेको थियो । बन्दीपुरमा कोराना सङ्क्रमितको सङ्ख्या २० पुगेको छ ।

प्रकाशित मिति : असार १७, २०७७ बुधबार  ७ : ५२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]