तराई, भित्री मधेश र तल्लो पहाडी क्षेत्र सलहको उच्च जोखिममा
काठमाडौं । नेपालको सम्पूर्ण तराई, भित्री मधेश र तल्लो पहाडी भूभाग सलहको उच्च जोखिममा रहेको भन्दै सरकारले उच्च सर्तकता अपनाउन आग्रह गरेको छ ।
भारतको भागलपुर तथा मोतीहारीमा सलहको झुण्ड रहेको र एउटा ठूलो झुण्ड कुशिनगरबाट चम्पाचरण जिल्लातर्फ उडेको भन्दै कृषि मन्त्रालय अन्तरगतको कार्यदलले ती क्षेत्रहरुमा सलह प्रवेश गर्न सक्ने औंल्याएको हो ।
केही दिनदेखि मनसुनको अरेबियन सागरबाट बहने पश्चिमीरदक्षिण(पश्चिमी वायुको प्रभाव रहेकोमा हाल पूर्वबाट दक्षिणतर्फ वायुको प्रभाव रहँदा हावाको वेगसंगै सलह भित्रिन सक्ने जोखिम रहेको प्लान्टक्वारिन्टिन तथा विषादी व्यवस्थापन केन्द्र माताहतको सलह सूचना केन्द्रले जनाएको छ ।
भारतमा रहेको सलहको झुण्ड दाजर्लिङ र सिलुगुडीतर्फ उडेको र वायुको प्रभावसँगै नेपाल पस्न सक्ने सम्भावना रहेको सूचना केन्द्रका प्रमुख रामकृष्ण सुवेदीले बताए ।
भारतको राजस्थानबाट उँडेको सलहको ठूलो झुण्ड नयाँ दिल्ली हुँदै अघि बढेको र वायुको बहावमा आएको नाटकीय परिवर्तनले नेपाल जोखिममा परेको पनि सुवेदीले जानकारी दिए ।
केन्द्रले सलह देखिए वा उडेको कुनै पनि सूचना भए तत्काल स्थानीय तह, कृषिका कर्मचारी वा कृषि मन्त्रलय तथा केन्द्रमा खबर गर्न पनि स्थानीयलाई आग्रह गरेको छ ।