कचनकवल गाउँपालिकाले रेडियो सञ्चालन गर्ने
बिर्तामोड । कचनकवल गाउँपालिकाले रेडियो सञ्चालन गर्ने तयारी गरेको छ । गत वर्षकै नीति कार्यक्रममा रेडियो सञ्चालन गर्ने उल्लेख थियो । गत वर्षको योजनामा रेडियो सञ्चालन गर्न सकेन । गाउँपालिकाले यो वर्ष पनि रेडियो सञ्चालन गर्ने नीति कार्यक्रममा समावेश गरेको छ ।

गाउँपालिकाका अध्यक्ष अञ्जर आलमले रेडियोबाटै पठनपाठन गर्ने गरी तयारी गरेको बताएका छन् । उनले शिक्षा र स्वास्थ्य सचेतनाका लागि रेडियो सञ्चालन गर्ने बताए । उनका अनुसार रेडियो सञ्चालन गर्ने बारे छलफल भइरहेको छ, बजेट छुट्याएर काम अघि बढाउछौं ।
गाउँपालिकाका प्रवक्ता लक्ष्मी नारायण यादवले गाउँपालिकाको काम प्रचार गर्न रेडियो सञ्चालन गर्ने जानकारी दिए । उनले असार २९ गतेको छलफलबाट रेडियो सञ्चालन बारे थप योजना तय गरिन्छ । उनले अन्य स्थानीय तहको भन्दा राम्रो कामहरु कचनकवलले गरेको तर प्रचार गर्न नसकेको भन्दै रेडियो शुरु गर्न लागेको बताए ।
प्रमुख प्रशासकीय अधिकृत दुर्गा प्रसाद पौडेलले रेडियो सञ्चालन गर्ने विषयमा अनविज्ञता प्रकट गरे । उनले अहिले विपद्को समयमा खर्च बढिरहेको अवस्थामा धान्न गाह्रो हुने बताएका छन् ।
रेडियो भिजनका प्रवन्ध निर्देशक एवम् पत्रकार गणेश पाखरेलले गाउँपालिकाले रेडियो सञ्चालन गर्न मिल्ने बताएका छन् । तर, उनले पालिकाको उदेश्य अनुरुप घरबाटै विधार्थीलाई शिक्षा दिने कुरा सान्दर्भिक नरहेको बताए । पोखरेलले भने, पालिकाको रेडियो सुनेर विधालय बन्द गर्ने हो र ? यो काम बेतुकको छ, ५० लाख लगानी गर्दा सामान्य तरिकाले रेडियो चलाउन सकिएला तर धान्न स्थानीय सरकारलाई सजिलो छैन ।
नेपाल पत्रकार महासंघ झापाका सचिव सन्तोष आचार्यले रेडियो खोल्नका लागि गाउँपालिका अधिकार सम्पन्न भएको बताए । उनले गाउँपालिकाले रेडियो सञ्चालन गर्नुभन्दा त्यो बजेट विकास निर्माणमा खर्च गर्दा राम्रो हुने बताएका छन् । सचिव आचार्यले भने, झापा सञ्चार माध्यमका दृष्टिले सम्पन्न जिल्ला हो । गाउँपालिकाले सहकार्य गर्ने हो भने रेडियो सञ्चालन गर्ने बजेटको आधा बजेट खर्च गर्दा गाउँपालिकाले आफ्नै कार्यक्रम चलाउन सक्छ । गाउँपालिकाले आफै रेडियो सञ्चालन गर्यो भने धेरै बजेटमा सामान्य काम मात्रै हुन सक्छ, आचार्यले थपे ।