नेकपा स्थायी कमिटीको बैठक २४ गतेका लागि सारियो
काठमाडौं, असार २२ गते । नेपाल कम्युनिष्ट पार्टी नेकपा स्थायी कमिटीको आज ११ बजे बस्ने भनिएको बैठक असार २४ गते ११ बजेका लागि सरेको छ । सो कुराको जानकारी प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस संयोजक सूर्य थापाले दिनुभयो ।

दुई अध्यक्षबीच हाल उत्पन्न गतिरोधलाई कम गर्न पहल भई रहेका बेला आजको बैठक सारिएको हुन सकने बताइएको छ । सहमतिको खाका तयार गर्न आइतबारको बैठकले चार सदस्यीय अनौपचारिक कार्यदल गठन गरेको थियो । सो कार्यदलले तयार गर्ने मस्यौदाका आधारमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सहमतिको प्रयास गरिने बताइएको छ । कार्यदललाई सहमतिको दस्तावेज मस्यौदा गर्न समय लाग्ने भएपछि थप दुई दिन स्थायी कमिटी बैठक स्थगित गरिएको केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो ।
दुई दिनसम्म कार्यदलमा संलग्न नेताहरुले अध्यक्षद्वयको परामर्शमा गृहकार्य गर्ने उहाँले बताउनुभयो । कार्यदलमा महासचिव विष्णुप्रसाद पौडेल, स्थायी कमिटी सदस्य शंकर पोखरेल, उर्जामन्त्री वर्षमान पुन र स्थायी कमिटी सदस्य जनार्दन शर्मा रहनुभएको छ । अर्को बैठक २४ गते बुधबार विहान ११ बजेका लागि बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्यथापाले जानकारी दिनुभयो ।