प्रधानमन्त्री ओली विरुद्ध लाग्ने नेताहरुलाई नङ्ग्याइदिने चेतावनी
बिर्तामोड । प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध भइरहेको घेरावन्दी भारतको इसारामा भएको युवा नेताहरुले बताएका छन् । आज बिर्तामोडस्थित नेकपाको जिल्ला कार्यालयमा भएको खवरदारी सभालाई सम्बोधन गर्दै युवा नेताहरुले भारतको इसारामा नेकपाका नेताहरु दौडिएको आरोप लगाए ।

घेराबन्दीको विरुद्धमा खवरदारी गर्दै युवा नेताहरुले प्रधानमन्त्री विरुद्धको षडयन्त्र सह्य नहुने बताएका छन् । उनीहरुले प्रधानमन्त्री ओली जनताको अभिमतले त्यहाँ पुगेको भन्दै स्वार्थका कारण हटाउन नमिल्ने बताए ।
युवा नेता राजु कार्कीले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री ओली विरुद्धको घेराबन्दीले मुलुकलाई नोक्सान हुने बताएका छन् । उनले विकास निर्माणको महाअभियानमा लागेको सरकार विरुद्धको गतिविधिले भारत मात्रै खुशी हुने तर्क गरे । कार्कीले मुलुकलाई जोगाउन ओलीले गरेको त्याग अन्य नेताले स्वीकार गर्न नसकेको आरोप लगाए ।

राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य पर्वत राज भण्डारीले माधव कुमार नेपाल र प्रचण्डलाई प्रधानमन्त्री ओलीको राजीनामा गराएर देखाउन चुनौति दिएका छन् । उनले नेपाल र प्रचण्डले पार्टी चलाउदा विलयको अवस्था पुगेको समयलाई स्मरण गर्न सूझाव दिए । उनले वर्षौ पार्टी चलाएर पार्टीलाई कमजोर बनाउनेहरुले नैतिकता समेत ख्याल नगरी राजीनामाको कुरा उठाएको बताएका छन् । नेता भण्डारीले बहुमतको आधारमा प्रचण्डलाई पनि अध्यक्षबाट हटाउन नदिने बताए । उनले प्रधानमन्त्री ओलीलाई दुवै पदबाट हटाउने दिवा सपना नदेख्न आग्रह गरेका छन् ।

यस्तै, अनेरास्ववियुका केन्द्रीय सदस्य मनोज ताम्ली लिम्बूले ओली विरुद्ध षडयन्त्र गर्नुभन्दा महाधिवेशन फेस गरेर देखाउन चुनौति दिए । उनले पार्टीभित्र भारतको एजेन्ट बनेर काम नगर्न नेताहरुलाई चुनौति दिएका छन् । नेता ताम्लीले भारतीय एजेन्टहरुका कारण देशमा षडयन्त्रमुलक गतिविधि शुरु भएको बताए । राष्ट्रियताको पक्षमा लागेका राजनेता केपी ओली विरुद्ध लाग्ने नेताहरुलाई नङ्ग्याइदिने चेतावनी दिँदै नेता ताम्लीले भने, कम्यनिष्ट आन्दोलन झापालीकै कारण यहाँसम्म पुगेकोले यो खवरदारीलाई सामान्य रुपमा नलिन आग्रह गरे ।
उनले अध्यक्ष वा प्रधानमन्त्री बन्ने भए महाधिवेशन र आम निर्वाचनमा जितेर देखाउन ओली विरुद्ध लागेका नेताहरुलाई चुनौति दिए । ओली विरुद्ध लाग्नेहरु जनता र देशकै विरोधी रहेको दावी गरे । उनले आफुहरुको कार्यक्रम राष्ट्रको पक्षमा भएको तर्क गर्दै कुनै व्यक्तिको पक्षमा नरहेको बताएका छन् ।
खवरदारी कार्यक्रममा झापाली युवा विधार्थीको तर्फबाट पार्टी एकता मजवुद बनाउन ज्ञापन पत्र समेत बुझाईएको छ । ज्ञापन पत्र बुझाउदै अनेरास्ववियुका नेता डम्बर अधिकारीले पार्टी एकता विरुद्ध षडयन्त्रकारीले अनेकौं भूमिका निर्वाह गरिरहेकोले तत्काल त्यस्ता गतिविधि रोक्न माग गरेका छन् । उनले पार्टी एकतालाई मजबुद बनाएर अघि बढाउन माग गर्दै युवा विधार्थीले खवरदारी गरेको बताए ।