असार ६, २०८२ शुक्रबार

देशभर भारी वर्षा हुँदा ठूला तथा साना नदीमा बाढी

झापा। देशभर मनसुनी वर्षा हुने क्रमसँगै केही क्षेत्रमा भारी वर्षा हुँदा ठूला तथा साना नदीमा बाढी तीव्र बनेको छ । बाढीले तराईका भूभागमा डुबानले जलमग्न बनाउन थालेको छ । पहाडी तथा मध्यपहाडी क्षेत्रमा बाढी र पहिरोले जनधनको क्षति बढाएको छ ।

विगत २४ घण्टामा कास्कीस्थित वर्षा मापन केन्द्रमा अत्याधिक २५०.९ मिलि मिटर वर्षा भएको छ । अन्य दुई केन्द्रमा २०० मिलिमिटर वर्षा भएको छ । त्यस्तै, दरबाङ स्टेसनमा १५०.६, खुदी बजारमा १४९.४, स्याङ्जामा १४८.६, बर्दघाटमा १५०.८ र बेसीसहरमा १६९.४ मिलिमिटर अत्याधिक वर्षा भएको छ ।

वर्षा बढेसँगै नदीको सतह बढिरहेको छ । सप्तकोसीमा बाढी बढेपछि भारतर्फका ३८ ढोका खोलिएका छन् । कोसीको बाढीले सर्तकता तह पार गर्दै खतराको तहतर्फ बढ्दै गरेको बाढी पूर्वानुमान महाशाखाका जलविज्ञ सुनिल पोखरेलले बताउनुभयो । कोसीको जल सतह शुक्रबार दिउँसो ६.२३ मिटरमाथि पुगेको छ । सात मिटर यसको खतराको तह हो ।

कोसीभन्दा बढि चितवनको नारायणी नदीको बहाव रहेको छ । नारायणी नदीको बाढीले सतर्कताको तह पार गरेर खतरातर्फ अघि बढेको छ । नारायणगढस्थित स्टेसनका अनुसार ११ मीटरको सतर्कता तर पार गरेर ११.१३ मिटरमाथि नारायणीको भेल बगिरहेको छ ।

अबको तीन दिन कन्काई, कोसी, कमला, बाग्मती, नारायणी तथा प्रदेश १ र २ मा बाग्मती, गण्डकी र प्रदेश ५ भइ बग्ने नदीमा उच्च बहाव हुने भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन भनिएको छ ।

कञ्चनपुरको शान्तिपुर बेलौरी, नवलपरसीको डण्डा, परासी बर्दघाट, चितवनको माडी, लमजुङको बेसी सहर क्षेत्रमा भारी वर्षा भएकाले सतर्क रहन एसएमएस पठाइ स्थानीयलाई सुरक्षित रहन भनिएको छ ।

काठमाडौँ उपत्यका पनि रातभर परेको पानीका कारण सडक र केही वस्ती जलमग्न बनेको थियो । उपत्यकाका बाग्मती, विष्णुमती, मनोहरा लगातका नदी तथा साना खोलामा बहाव बढेपछि सहरका ढल निकासमा समस्या आएको थियो ।

मौसम पूर्वानुमान महाशाखाले न्यूनचापीय रेखा तराई भूभागनजिक नै रहेकाले साताव्यापी वर्षा कायमै रहने जनाएको छ । आगामी तीन दिन देशभर बदली रही विभिन्न क्षेत्रमा भारी वर्षा हुने उसले जनाएको छ । जस अनुसार प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, प्रदेश ५, सुदुरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ ।

प्रकाशित मिति : असार २७, २०७७ शनिबार  ७ : ५५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]