नेपालमा सङ्क्रमितभन्दा निको हुनेको प्रतिशत उकालो लाग्यो
काठमाडौं । नेपालमा कोभिड–१९ बाट सङ्क्रमित भएका कुल बिरामीभन्दा कोरोनाभाइरसबाट मुक्त हुनेको संख्या पहिलोपटक बढेको छ । आइतबारसम्म आठ हजार ५८९ जना सङ्क्रमित निको भई घर फर्केका छन् । नेपालमा कोभिड–१९(सार्स–कोभ–२) का कुल बिरामीको संख्या १६ हजार ८०१ छन् । शनिबार ५०.५ प्रतिशत रहेको निको हुने दर आइतबार ५१.१ प्रतिशत पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा कोरोनाभाइरस सङ्क्रमण सक्रिय रहेका बिरामीको संख्या आठ हजार १७४ रहेको जनाएको छ । यसरी पहिलो पटक सङ्क्रमण सक्रिय रहेको बिरामीभन्दा निको हुने बढेका छन् ।

असार तेस्रो साता दैनिक सङ्क्रमित हुनेको संख्या पाँचसयभन्दा बढी भएको थियो । करिब एक सातासम्म पाँचसभ भन्दा बढी नयाँ सङ्क्रमित थपिदा प्रकोपको रुप लिई कोरोना सङ्क्रमण महामारीको रुप लिन सक्ने आँकलन गरिएको थियो । तर असार १९ पछि दैनिक रुपमा सङ्क्रमित हुनेको संख्या घट्दो क्रममा छन् ।
नेपालमा विश्व परिदृश्य अनुसार सक्रिय बिरामी र निको हुने दर कम नै छ । सङ्क्रमित हुने संख्याको आधारमा नेपाल ६१ औं सबैभन्दा प्रभाबित राष्ट्र हो । विश्वभरि कुल सङक्रमित एक करोड २१ लाख ९० हजार १९६ छन् । करिब ४५ लाखमा सङ्क्रमण सक्रिय छन् । मन्त्रालयका अनुसार विश्वभरि हाल कोरोना सङक्रमण सक्रिय बिरामी सरदर ३७.३ प्रतिशत मात्रै छ । नेपालमा भने सङ्क्रमण सक्रिय रहेको बिरामी ४८.९ प्रतिशत छ । विश्वमा निको हुने दर करिब ५८ प्रतिशत छ । नेपालमा ५१.१ प्रतिशत छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार असार पहिलो साता नेपालमा सङ्क्रमण दर ११ प्रतिशत कायमे थियो । असार १९ गते उक्त दर १७ प्रतिशतसम्म पुग्यो । जुन अहिलेसम्मकै उच्च हो । हाल सङ्क्रमण दर २ प्रतिशतमा झरेको छ ।
पछिल्लो २४ घण्टामा तीन हजार ९१६ जनाको नमूना परीक्षणको प्रतिवेदन आएकोमा ८२ जनामा सङ्क्रमणको पुष्टि भएको छ । जुन पछिल्लो दुई सातामा शनिबारको ७० जना सङ्क्रमितपछिको अहिलेसम्मकै सबैभन्दा कम हो ।
महामारी तथा रोग नियन्त्रण केन्द्र(इसीडीसी)का प्रमुख डा. वासुदेव पाण्डेका अनुसार निको हुने दर बढिरहँदा विश्वको तथ्याङ्क भेट्न एक साता लाग्छ । तर क्वारेन्टाइनमा रहेकाले उक्त दरलाई प्रभाबित बनाउन सक्छन् । क्वारेन्टाइनमा हाल २३ हजार ७८४ जना छन् । जसको परीक्षण गरिएको छैन् । क्वारेन्टाइनको रहेकाहरूको परीक्षण नतिजाले नेपालमा कोरोनाभाइरस सङ्क्रमितको संख्या अझै बढन सक्ने डा. पाण्डे बताउनुहुन्छ ।
तर पछिल्ला दिनहरुका क्वारेन्टाइनमा बसेका बिरामीमा पनि सङ्क्रमण दर थोरै देखिएको छ । जसले नेपालका लागि कोरोनाको सङ्क्रमण दरले राहत दिएको छ ।
उपत्यकामा ३४७ सङ्क्रमित
गत् जेठ महिनासम्म न्यून सङ्क्रमित् फेला पर्ने काठमाडौं उपत्यकामा पछिल्ला दिनहरूमा दैनिक रुपमा सङ्क्रमित बढ्दो अवस्थामा छन् । जसमध्ये अधिकांश विदेश तथा बाहिरी जिल्लाबाट आएका छन् । तर सङ्क्रमितको सम्पर्कमा आएर सङ्क्रमण हुनेहरू पनि बढी छन् । मन्त्रालयका अनुसार काठमाडौंमा उपत्यकामा फेला पर्ने सङ्क्रमित अस्प्तालमा भर्ना भएका, विमानस्थल भएर आएका र केही कुनै यात्रा वृत्तान्त नरहेका पनि छन् ।
तर उपत्यकामा सङक्रमण दर बाहिरको अपेक्षा थोरै पाइएको छ । काठमाडौं उपत्यकामा सङक्रमण दर शून्य दशमलब पाँच प्रतिशत छ । बाहिर छ प्रतिशत रहेको छ । उपत्यका बाहिर महिला सङ्क्रमित करिब दश प्रतिशतको हाराहारीमा रही कम बेसी हुँदै आएको छ । तर काठमाडौं उपत्यकामा सङ्क्रमितमध्ये ४० प्रतिशत महिला छन् । डा. पाण्डेले यसबारे थप अध्ययन भइरहेको बताउनुहुन्छ ।
डा. पाण्डेले अनुसार २५ गतेपछि काठमाडौं उपत्यकाको १२ स्थानबाट तीन हजार नमूना सङ्कलन गरिएको छ । मन्त्रालयले काठमाडौं उपत्यकामा तात्काल पाँच हजार नमूना लिने लक्ष्य राखेको छ ।
हाल उपत्याकामा विभिन्न संक्रम फैलन सक्ने संभावित १० स्थानबाट तीन हजार जनाका स्वाब संकलन गरिएकोमा एक हजार ६२१ जनाको परीक्षणको नतिजा आएको छ । जसमध्ये तीन जनामा सङक्रमणको पुष्टि भएको छ । जुन ०.१८ प्रतिशत हो । जोखिममा रहेका समुदायबाट उक्त नमूना सङ्कलन गरिएको छ । बैंक, वित्तीय संस्थान, बजार–पसल, स्वास्थ्य कार्यकत्र्ता र घनाबस्तीबाट नमूना सङ्कलन गरिएको छ ।