बैशाख २८, २०८२ आईतबार

मानव तस्करको फन्दाबाट ९ महिनापछि स्वदेश फर्के २१ नेपाली महिला

काँकडभिट्टा – मानव तस्करको फन्दामा परेर खाडी मुलुक जाने क्रममा विगत नौ महिनादेखि पूर्वोत्तर भारतको मणिपुरमा अलपत्र २१ जना नेपाली महिलालाई मंगलबार बिहान स्वदेश फर्काइएको छ ।

नयाँदिल्लीस्थित नेपाली दूतावासको पहलमा उनीहरुलाई स्वदेश फर्काइएको हो । मणिपुर सरकारसँगको सहकार्यमा उनीहरुलाई आइतबार बसमा पठाइएको मणिपुरका सामाजिक कार्यकर्ता अर्जुर्न जोगीले बताए । आइतबार हिँडेका उनीहरु मंगलबार बिहान ३ बजे सीमावर्ती नाका पानीट्यांकी आएका थिए ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी राजेन्द्र पोख्रेलले भारतीय सुरक्षाकर्मीसँगको सहकार्यमा उनीहरुलाई नेपाल ल्याएर माइती नेपालीको पुनःस्थापना गृहमा राखिएको बताए ।

वैदेशिक रोजगारीका लागि खाडी मुलुक जान क्रममा विभिन्न मितिमा उनीहरु पक्राउ परेका थिए । अधिकांश भारत–म्यानमार सीमावर्ती क्षेत्र मोरेमा पक्राउ परेका थिए । उनीहरुलाई मणिपुर सरकारले सेल्टर गृहमा राख्दै आएको थियो । लामो प्रयत्नपछि उनीहरुलाई स्वदेश फर्काउन सफल भएको दिल्लीस्थित दूतावासले जनाएको छ ।

अलपत्रमध्ये ५ जनाको अझै उद्धार हुन सकेको छैन । उनीहरुकाविरुद्ध स्थानीय अदालतमा मुद्दा भएकाले मुद्धा किनारा नलागुन्जेल उद्धारमा समस्या भएको जनाइएको छ ।

मानव तस्करहरुले पछिल्लो समय खाडी लगायतका मुलुक पठाउन मणिपुर हुँदै म्यानमारको रुट प्रयोग गर्दै आएका छन् । यसअघि पनि यो क्षेत्रबाट पटकपटक गरी २ सयभन्दा बढी नेपाली महिला र पुरुष उद्धार गरी स्वदेश फर्काइएको थियो ।

माइती नेपालका प्रदेश इन्चार्ज गोविन्द घिमिरेले उद्धार गरिएका महिलाहरुलाई बुधबार घर पठाइने जानकारी दिए । कान्तिपुरबाट

प्रकाशित मिति : असार ३०, २०७७ मंगलबार  ३ : ३८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]