बैशाख २९, २०८२ सोमबार

वरदान बन्दै स्वास्थ्य बीमा

कोकिला ढकाल

इलाम । सरकारले सुरु गरेको सामाजिक स्वास्थ्य सुरक्षा (स्वास्थ्य बीमा) कार्यक्रमअन्तर्गत जिल्लामा ८४ हजार १५५ जनाले बीमा गराएका छन् । विशेष गरी उपचारमा सहुलियत र कडा किसिमको रोगको उपचारमा कम खर्च लाग्ने भएपछि स्वास्थ्य बीमा गराउनेको सङ्ख्या पनि बढ्न थालेको छ ।

स्वास्थ्य बीमा गराउँदा एक लाख रुपियाँसम्मको उपचारको व्यवस्था भएपछि मुटु, मिर्गौला, मधुमेह, उच्च रक्तचापलगायत रोगका बिरामीलाई उपचार गर्न धेरै सजिलो भएको माईजोगमाई गाउँपालिकाकी टीका खत्रीले बताउनुभयो । हामीले त परिवारका सबै सदस्यको बीमा गराएका छौँ, अझ दबाइ खाइरहने बुबा–आमालाई बीमाले धेरै सजिलो भएको छ, खत्रीले भन्नुभयो, “स्वास्थ्य बीमा त गर्नैपर्नै रहेछ । ”

दुई वर्षअघि पित्तथैलीको शल्यक्रिया गरेकी सोयाककी सुमित्रा आचार्यले अहिले पनि नियमित चेकजाँच गराउनुपर्छ । रगत परीक्षण, पिसाब परीक्षण, भिडियो एक्स–रे लगायतका परीक्षण गर्दा पनि धेरै सहुलियत मिलेको आचार्य बताउनुहुन्छ । स्वास्थ्य बीमा नगर्दा भिडियो एक्स–रे, रगत परीक्षणमै धेरै खर्च हुन्थ्यो, आचार्यले भन्नुभयो, “एकपटक स्वास्थ्य बीमा गरेर बर्सेनि नवीकरण गरिरहँदा धेरै सहयोग मिलेको छ । ”

उपचार गराउन नसक्ने परिवारका लागि स्वास्थ्य बीमा कार्यक्रम वरदानजस्तै भएको आचार्य बताउनुहुन्छ । खर्च अभावले मेरो उपचार हुने थिएन, बीमाले सहयोग गर्दा मात्र अहिलेसम्म बाँच्न सकेकी छुजस्तो लाग्छ, आचार्यले भन्नुभयो ।

स्वास्थ्य बीमा गर्दा पाँच जनाको परिवारलाई तीन हजार पाँच सय रुपियाँ लाग्ने गरेको छ । यसबाट एउटा परिवारलाई एक लाख रुपियाँसम्मको उपचार खर्च सरकारले बेहोर्ने गरेको छ । त्यसबाहेक ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई एक लाख रुपियाँको निःशुल्क उपचार गर्ने गरेको छ ।
२०७३ देखि इलाममा सुरु भएको स्वास्थ्य बीमामा अहिलेसम्म दस हजार ८०९ जना ज्येष्ठ नागरिक, ४०१ जना रातो कार्ड पाउने अपाङ्गता भएका व्यक्तिका परिवार, कुष्ठ रोगी एक जना, एचआईभी पोजेटिभ रहेका २६ जनाको परिवारको सरकारले निःशुल्क बीमा गरिदिएको सामाजिक स्वास्थ्य बीमा समिति इलामका दर्ता अधिकारी खेम अधिकारीले जानकारी दिनुभयो ।

स्वास्थ्य बीमाबाट एक हजार १३३ किसिमका औषधि उपलब्ध हुने गरेको छ । यीमध्ये लक्षणका आधारमा गरिने उपचारमा बढी औषधि खर्चमा भिन्नता हुने बताइएको छ । जिल्लामा उच्च रक्तचाप, महिलाको पाठेघर, पिसाब र मधुमेहका बिरामीको सङ्ख्या बढी रहेको पाइएको अधिकारीले जानकारी दिनुभयो । बीमा गर्नेले बहिरङ्ग, प्रयोगशाला, एक्स–रे, साधारण चिरफार, मधुमेह, प्रजनन स्वास्थ्य, इन्डोस्कोपी, अल्ट्रासाउन्ड, अक्सिजन र स्वास्थ्य जोखिम परीक्षणलगायत सेवा पाउने गरेका छन् ।

जिल्लाका इलाम अस्पताल, मङ्गलबारे प्राथमिक स्वास्थ्य केन्द्र, फिक्कल प्राथमिक स्वास्थ्य केन्द्र, पशुपतिनगर प्राथमिक स्वास्थ्य केन्द्र र प्याङ प्राथमिक स्वास्थ्य केन्द्रमा बीमा सुविधाको उपचार हुने गरेको छ । यीबाहेक थप उपचार गर्नका सम्बन्धित स्वास्थ्य संस्थाबाट सिफारिस भएका बिरामी झापाको मेची अस्पताल, बी एन्ड सी, आम्दा, लाइफ लाइन, मेची आँखा उपचार केन्द्र, विराटनगरस्थित नोबेल मेडिकल अस्पताल र धरानस्थित बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि जाने गरेका छन् ।

तर सिफारिस भएर गएका बिरामीलाई केही अस्पतालले बीमा सुविधा नदिँदा समस्या भएको छ । बीमाको सुविधा भनिएको भए पनि अस्पतालले सर्वसाधारणलाई बीमाबाट उपलब्ध हुने सहयोग नदिने गरेको इलामका रमेश पराजुलीले बताउनुभयो । केही दिनअघि दाजु बिरामी भएर झापाको बी एन्ड सी गएका थियौँ, बीमाको सुविधा पाउन लडाइँ नै गर्नुपर्ने अवस्था आयो, पराजुलीले भन्नुभयो, “सर्वसाधारणले जहाँ सुविधा पाउँदैनन् त्यहाँ सरकारको ध्यान जानुपर्छ । ”

प्रकाशित मिति : श्रावण ४, २०७७ आईतबार  ९ : १४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]