नेकपा स्थायी कमिटी बैठक सातौं पटक स्थगित
काठमाडौँ, साउन ४ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक पुनः सरेको छ । पार्टीका दुई अध्यक्षबीचको सहमति कायम गर्न थप समय लाग्ने भन्दै स्थायी कमिटी बैठक सारिएको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले बताउनुभयो ।
आज अपरान्ह ३ बजेका लागि तय गरिएको स्थायी कमिटी बैठक दुई दिन पछि सारिएको हो । सचिव ढकालकाअनुसार ६ गते मझ्गलबार ११ बजे बालुवाटारमा बैठक बस्नेछ । असार १० गतेदेखि शुरु भएको स्थायी कमिटी बैठक २० गतेदेखि निरन्तर स्थगित हुँदैआएको छ ।
शनिबार बालुवाटारमा बसेको पार्टी सचिवालय बैठकमा दुई अध्यक्षले सहमति गरेरै पार्टीको आन्तरिक गतिरोध अन्त्य गर्ने विषयमा एकमत हुनुभएपछि सहमतिको प्रयासका लागि पुनः बैठक सारिएको छ । बालुवाटारमा हिजो भएको सचिवालय बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा अोलीले चाँडै महाधिवेशन सम्पन्न गरी नेतृत्व हस्तान्तरण गर्ने प्रस्ताव राख्नुभएपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहमत हुनुभएको पार्टी स्रोतले बताएको छ ।
प्रधानमन्त्री ओलीले आगामी मङ्सिरमित्र महाधिवेशन गर्ने प्रस्ताव राख्नुभएको बुझिएको छ । प्रक्रिया पुर्याएर नेतृत्व हस्तान्तरणको वातावरण मिलाउन गर्नुभएको प्रधानमन्त्री ओलीको आग्रहमा अध्यक्ष प्रचण्ड सहमति जनाउनुभएको नेताहरूको बुझाइ छ ।
यसअघि अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीलाई दुवै पद छाड्न आग्रह गर्दैआउनुभएको थियो । तर पछिल्लो बैठकमा भएको छलफलपछि प्रधानमन्त्री ओली आफूले दुवै पद नछाड्ने बरु मङ्सिरभित्र महाधिवेशन गरेर पार्टीको नेतृत्व हस्तान्तरण गर्ने प्रस्ताव राख्नुभएको बालुवाटार स्रोतले बताएको छ । प्रधानमन्त्रीको सो प्रस्तावमा अध्यक्ष प्रचण्ड सकारात्मक बन्नु भएपनि वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले भने त्यसमा सहमति नजनाएको नेताहरूले बताउनुभएको छ ।