कोरोना नियन्त्रण तथा रोकथाममा मेचीनगरको १ करोड १७ लाख खर्च
बिर्तामोड । मेचीनगर नगरपालिकाले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि १ करोड १७ लाख २१ हजार ९ सय ९ रुपैयाँ खर्च भएको जनाएको छ ।

राहत वितरण, सचेतना मुलक कार्यक्रम, स्वास्थ्य सामग्री खरिद, क्वारेन्टाइन व्यवस्थापन, अभिनाश उप्रेतीको उपचार खर्च र बीमा वापतको खर्चमा उक्त रकम खर्च भएको मेचीनगरले जनाएको छ ।
असार मसान्त सम्म उत्तर रकम खर्च भएको मेचीनगरको लेखा शाखाले जानकारी दिएको छ । प्रहरीले प्रयोग गर्ने सवारी मर्मत, प्रचार प्रसार, भीटीएम टेस्ट किट खरिद, पीपीई लगायतका सामग्री नगरले खरिद गरेको थियो । क्वारेन्टाइनमा कार्यरत कर्मचारी, श्रमिक, एम्बुलेन्स भाडा, धुलावारी स्वास्थ्य चौकी पार्टीशनमा खर्च गरिएको बताइएको छ ।
नगरलाई कोरोना महामारीको समयमा विभिन्न क्षेत्रबाट समेत सहयोग जुटेको थियो । विभिन्न मन्त्रालय, सहकारी संस्था, उधोग वाणिज्य संघ, जनप्रतिनिधि, कर्मचारी सुविधा वापतको रकम कोषमा जम्मा गरिएको थियो । स्थानीय राजनीति दल, विभिन्न संघ संस्थालेले गरेको सहयोगबाट जम्मा १ करोड ९२ लाख ९६ हजार २२९ रुपैयाँ संकलन भएको थियो । सोहि रकमबाट नगरले कोरोना नियन्त्रण तथा रोकथामका लागि खर्च गरेको छ ।