असार ८, २०८२ आईतबार

एक बुँदे प्रस्ताव पारित गर्दै एक साताका लागि स्थगित

काठमाडौँ, साउन ६ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सकिएको छ । अर्को बैठक एक सातापछि साउन १३ गते ११ बजे बस्ने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । वर्षाका कारण देशका विभिन्न ठाउँमा गएको बाढी पहिरो र डुबानका कारण मुलुक समस्यामा परेकाले प्राकृतिक विपतमा परेकाहरूको उद्धार र राहत व्यवस्थापनमा लाग्ने प्रस्ताव पारित गर्दै बैठक स्थगित गरिएको छ ।

आजको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली अनुपस्थित रहनुभएको प्रवक्ता श्रेष्ठले बताउनुभयो । पत्रकारको जिज्ञासामा ‘प्रधानमन्त्रीज्यूको थकान र उहाँको अरु काममा व्यस्त भएकाले उपस्थित नहुनुभएको हो’ उहाँले भन्नुभयो । विहान ११ बजेका लागि बोलाइएको बैठक दुई घण्टा पछि सारेर १ बजे राखिएको थियो । तर बैठक निर्धारित समयभन्दा आधा घण्टा ढिलाे गरी डेढ बजे बसेको प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईंले बताउनुभयो ।

दुई अध्यक्षबीचको वार्ताका कारण बैठक केही ढिलो हुन गएको उहाँले बताउनुभयो । बैठकले वर्षाका कारण आएको प्राकृतिक विपत्तिमा परेका नागरिकको उद्धार, राहत वितरण र व्यवस्थापनमा जुट्न पार्टी पङ्तिलाई आव्हान गरेको छ । पार्टी प्रवक्ता श्रेष्ठकाअनुसार मनसुन शुरु भए यता यस वर्ष २३३ जनाको ज्यान गएको, ९८ जना बेपत्ता भएको, ९९ जना घाइते र २८२ घरमा क्षति भएको छ । बैठक आधा घण्टा बसेर स्थगित भएको थियो ।

दुई अध्यक्षबीच वार्ता

स्थायी कमिटी बैठकअघि बालुवाटारमा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको थियो । दुई अध्यक्षबीच देखिएको विवाद अन्त्य गर्नेगरी वार्ता भएपनि ठोस सहमति भए नभएको बारे बैठकमा जानकारी नगराइएको प्रवक्ता श्रेष्ठले बताउनुभयो । करिब एक घण्टा चलेको दुई अध्यक्षबीचको वार्ता सकारात्मक रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

प्रकाशित मिति : श्रावण ६, २०७७ मंगलबार  ३ : ५८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]