जोखिम ख्याल गरेर विर्तामोड सिल गर्न सकिन्छ : प्रवक्ता
बिर्तामोड । झापाको बाह्रदशी र मेचीनगरमा समुदायस्तरमा कोरोना फैलिएको आशंका पछि बिर्तामोडमा जोखिम बढेको छ । दुवै ठाउँका नागरिकहरु विभिन्न कामले बिर्तामोड आएको हुन सक्ने अनुमान गरिएको छ ।

बाह्रदशीका एक जना संक्रमित गत साउन ५ गते बिर्तामोड आएका थिए । उनले आफु बिर्तामोड आएपनि घुमफिर नगरी घर फर्किएको जानकारी दिएका छन् । तर, राजगढमा औषधि व्यवसाय गर्ने व्यक्तिलाई भेटेर विर्तामोड आउनेको संख्या धेरै छ । भेटेर फर्किनेहरु त्यसरी नै अन्य औषधि व्यसायीसम्म गएका छन् ।
बिर्तामोडसहित विभिन्न ठाउँका औषधिका थोक विक्रेताहरु ति व्यक्तिलाई भेटेर फर्किएको बुझिएको छ । उनको पसलमा विर्तामोडबाट धेरै औषधिका थोक विक्रेता पुगेका थिए । संक्रमित ति व्यक्तिले पसलमा उपस्थित हुनेहरुको नामावली नै राखेको पाइएको छ ।
उच्च जोखिम रहेको बिर्तामोडमा व्यवसायीले सामान्य सतर्कता समेत नअपनाई व्यवसाय सुरु गरेका छन् । व्यवसाय शुरु गर्न हतार गरेका व्यवसायी अहिले मेचीनगर र बाह्रदशीको घटनापछि अतालिएका छन् । बिर्तामोड फेरि सिल हुने भन्दै अत्तालिएका व्यवसायीलाई स्वास्थ्य मापदण्ड पुरा गर्न आग्रह गरिएको छ ।
बिर्तामोड नगरपालिकाका प्रवक्ता अग्नि पाण्डेले तत्काल सिल गर्ने कुनै तयारी नभएको जानकारी दिएका छन् । उनले छिमेकी पालिकाहरुमा जोखिम बढेको बताउदै सतर्क हुन आग्रह गरे । प्रवक्ता पाण्डेले भने, ‘विर्तामोडमा पनि जोखिमलाई अध्ययन गरेर सिल गर्न सकिन्छ । समुदायमै फैलियो भने सिल नगरी पनि हुन्न ।’