बैशाख ३०, २०८२ मंगलबार

बिर्तामोडका औषधि व्यवसायीलाई होम क्वारेन्टाइनमा बस्न आग्रह

विर्तामोड । बिर्तामोड नगरपालिकाले औषधिको थोक विक्रेताहरुलाई होम क्वारेन्टाइनमा बसिदिन आग्रह गरेको छ । थोक विक्रेताका केहि बजार प्रतिनिधिसँग राजगढका क्लिनिक सञ्चालकसँग भेट भएको भन्दै नगरपालिकाले यस्तो आग्रह गरेको हो ।

बाह्रदशीस्थित राजगढका स्थानीय क्लिनिक सञ्चालक र नेकपाका नेतालाई कोरोना पुष्टि भएपछि उनीहरुसँग भेटघाट हुनेहरुलाई धमाधम क्वारेन्टाइनमा राख्ने काम भइरहेको छ । क्लिनिक सञ्चालकसँग औषधिका थोक विक्रेताका ७० जनाभन्दा बढि बजार प्रतिनिधिसँग भेट भएको बुझिएको छ । उनीहरु सबै आ–आफ्नो पसल, परिवारसम्म पुगिसकेका छन् ।

राजगढमा संक्रमण फेला परेका दुवै जना क्वारेन्टाइन नबसेका व्यक्ति हुन् । उनीहरु संक्रमित भएको पुष्टि भएपछि समुदायमा फैलिएको हुन सक्ने अनुमान गरिएको छ ।

उनीहरुमा संक्रमण देखिएपछि बिर्तामोडमा समेत उच्च सतर्कता अपनाइएको छ । बुधबार कोरोना भाइरस महामारी रोकथाम तथा राहत व्यवस्थापन नगरस्तरीय समितिले औषधि व्यवसायीसँग छलफल गरेर सतर्कता अपनाउन आग्रह गरेको छ । व्यवसायीलाई आवश्यकताका आधारमा क्वारेन्टाइन बस्न आग्रह गरेको बिर्तामोड नगरपालिकाले जनाएको छ ।

बिर्तामोडमा राजगढका संक्रमितहरुसँग भेट गर्ने व्यक्तिहरुमा संक्रमण देखिए तत्कालै बिर्तामोड सिल गर्ने उपप्रमुख पवित्रा महतरा प्रसाईले जानकारी दिईन् ।

बिर्तामोडमा भीडभाड नगर्न, बेलुका ५ बजे नै बजार बन्द गर्न, कोरोनाबाट बच्नका लागि संवेदनशील भइ सचेत र सतर्क रहन, शंकास्पद संक्रमितहरुको पहिचान गर्ने, सर्वसाधारणलाई सचेत गराउने सूचना प्रवाह गर्ने निर्णय भएको उप–प्रमुख प्रसाईले जानकारी दिएकी छन् ।

प्रकाशित मिति : श्रावण १५, २०७७ बिहीबार  ८ : ४१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]