देउवाको प्रतिवादमा उत्रियो पौडेल समूह
काठमाडौं । महाधिवेशनको संघारमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एकलौटी र मनोमानी रुपमा पार्टी केन्द्रिय विभाग र निकायमा मनोनयन गरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष सार्वजनिक प्रतिवादमा उत्रिएको छ ।

महाधिवेशनको कार्यतालिका सार्वजनिक भइसकेको अवस्थामा आफूअनुकुल हुनेगरी बिभिन्न विभागमा मनोनयन गरेको भन्दै पौडेल पक्षका नेताहरुले बुधबार सभापति देउवालाई सो लिखित असहमति पत्र बुझाएका हुन् । देउवाले हालै कांग्रेसका विभिन्न केन्द्रीय विभाग गठन गरेकामा असन्तुष्ट पौडेल समूहले बिहीबार देउवालाई भेटेर यस विषयमा लिखित असहमति बुझाएको हुन् ।
तर देउवाले सम्बोधन गर्ने ठोस प्रतिवद्धता नजनाएको भन्दै यो समूहृले बिहीबार पत्रकार सम्मेलन गरेर सार्वजनिक रुपमै विरोधमा उत्रिएको छ । पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेलले भने ‘महामन्त्री र मैले यसअघि पनि पत्र लेखेरै ध्यानार्षण गराएका थियौं । तर सभापतिले सुन्नु भएन, जहिलेसम्म सुन्नुहुन्न तबसम्म दबाब बढाउँदै लैजान्छौं ।’
पौडेलले विधान विपरीत भएका गतिविधिलाई नै महाधिवेशनको एजेण्डा बनाउने घोषण गरे । उनले देशभरका नेता कार्यकर्तालाई विधान विपरीतका गतिविधिलाई साथ नदिन पनि आग्रह गरेका छन् । पत्रकार सम्मेलनमा महामन्त्री डा। शशांक कोइराला, केन्द्रीय सदस्य शेखर कोइराला पनि सहभागी थिए ।