बैशाख ३०, २०८२ मंगलबार

स्थानीयवासीमा कोरोना सङ्क्रमण

धादिङ, साउन १६ गते । आफ्नो आँखाको उपचारका लागि काठमाडौँ जाने तयारीमा रहेका एक युवकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जिल्लाको एक बैङ्कमा कार्यरत ४७ वर्षका युवाले आँखाको उपचारका लागि काठमाडौँ जानका लागि पीसीआर परीक्षण गर्ने क्रममा बुधबार कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

नीलकण्ठ नगरपालिकामा बस्दै आउनुभएका पुरुषले काठमाडौँमा आँखाको अप्रेसन गराउन जानुपर्ने भन्दै स्वाब सङ्कलन गराउनुभएको र उहाँको रिपोर्ट पोजेटिभ आएको जनस्वास्थ्य कार्यालय धादिङका प्रवक्ता विक्रम विश्वकर्माले जानकारी दिनुभएको छ ।

ती युवकको रिपोर्ट पोजेटिभ आएपछि उहाँको परिवार र सम्पर्कमा रहेका व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ गर्ने तयारी भइरहेको नीलकण्ठ नगरपालिकाका जनस्वास्थ्य निरीक्षक शिव रानाले जानकारी दिनुभएको छ । नीलकण्ठ नगरपालिकाले समुदायमा कोरोना सङ्क्रमण देखिएपछि सतर्कता अपनाउन सबैलाई आह्वान गरेको छ । भीडमा नजान र बाहिर निस्कदा मास्कको प्रयोग गर्न नगरपालिकाले सबैमा अनुरोध गरेको छ ।

मङ्गलबार धादिङको नीलकण्ठ नगरपालिकाका पाँच, सिद्धलेक गाउँपालिका र खनियाँबास गाउँपालिकाका एक–एक जना गरी सात जनामा कोरोना सङ्क्रमण भएको छ । जनस्वास्थ्य निरीक्षक शिव रानाका अनुसार नीलकण्ठका चार सङ्क्रमितमा एक जना होम क्वारेन्टाइनमा बसेका र तीन जना क्वारेन्टाइनमा बसेकाहरू हुन् । सङ्क्रमण पुष्टि भएकालाई नीलकण्ठ नगरपालिका ३ मा रहेको डिभिजन वन कार्यालयको भवनमा बनाइएको आइसोलेसनमा राखिएको छ । जिल्लामा १३७ जनामा कोरोना सङ्क्रमण भएकोमा १२९ जना निको भएर घर फर्किसकेका छन् ।

प्रकाशित मिति : श्रावण १६, २०७७ शुक्रबार  १ : ०४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]