मोरङका नौ स्थानीय तहमा ‘लकडाउन’
विराटनगर : कोरोना भाइरसको संक्रमण तीव्ररुपमा फैलदै गएपछि बिहीबारसम्ममा मोरङका नौवटा स्थानीय तहलाई ‘ लकडाउन’ को परिधिमा ल्याइएको छ । संक्रमण नियन्त्रण एवं रोकथामनका लागि स्थानीय तहले धमाधम ‘लकडाउन’ गर्न थालेका हुन् । संक्रमणको अवस्था विश्लेषण गरेर आवश्यक कदल चाल्न सक्ने निर्णय प्रदेश १ सरकारले गरेपछि स्थानीय तहलाई ‘लकडाउन’ का लागि बाटो खुलेको थियो ।

सर्वसाधारण, नागरिक अगुवा, सुरक्षा निकाय, उद्योगी, व्यवसायी, बुद्धिजिवी, अधिकारकर्मी, पेशाकर्मी समेतको तीव्र दबाबपछि थप कोरोना नफैलिओस भन्नलाई ‘लकडाउन’ गर्नुपर्ने अवस्था आएको स्थानीय तहरुले जनाएका छन् ।
मोरङमा पहिलो पटक साउन १६ गते विराटनगर महानगरपालिकाले संक्रमण बढेको भन्दै पहिलो पटक ‘लकडाउन’ गरेको थियो । बिहीबारसम्ममा ‘लकडाउन’ गर्ने स्थानीय तहको संख्या नौ पुगेको हो ।
विराटनगर महानगर, रंगेली, रतुवामाई, धनपालथान, सुनवर्षी, सुन्दरहरैँचा, पथरीशनिश्चरे, बेलबारी नगरपालिका र कानेपोखरी गाउँपालिकाले ‘लकडाउन’ गरेका छन् । जहदा र कटहरी गाउँपालिकाले ‘लकडाउन’को घोषणा नगरे पनि कार्यालय र गाउँपालिका अन्र्तगतका वडा कार्यालय बन्द गरेका छन् ।
ग्रामथान, मिक्लाजुङ, उर्लाबारी, केराबारी, बूढीगंगा गाउँपालिका र लेटाङ नगरपालिकामा ‘लकडाउन’ गरिएको छैन । ‘लकडाउन ‘ नगरिएका स्थानीय तहमा ‘लकडाउन ‘ गरिएका तहमा जस्तो भाइरसको संक्रमण छैन ।
विराटनगर महानगरपालिकाको जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले सबै जनाले होसियारी र सावधानी अपनाउनुको विकल्प नभएको बताए । ‘संक्रमण समुदायस्तरमा फैलिइसकेको छ,’ उनले भने, ‘सावधानी नअपनाए संक्रमणबाट जोगिने सम्भावना कम छ ।’
कार्कीले अतिआवश्यक काम बाहेक घरबाहिर ननिस्कन सबैलाई आग्रह गरेका छन् । संघीय सरकारले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका गत चैत ११ गतेदेखि सुरु गरेको ‘लकडाउन ‘ साउन ७ गतेदेखि हटाएको थियो । साउन ७ गते सम्म मोरङमा कोरोना संक्रमितको संख्या दुई सय ११ थियो । ‘लकडाउन ‘ खुलेको दुई सातामै मोरङमा दुई सय १९ जना संक्रमित थपिएका छन् ।
मोरङमा बिहीबारसम्म संक्रमितको संख्या चार सय ३० पुगिसकेको जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले बताए ।मोरङका १७ वटै स्थानीय तहमा संक्रमण फैलिएको जानकारी उनले दिए ।