कोरोना संक्रमितका कारण मेची अस्पताल असुरक्षित छैन : सूचना अधिकारी
बिर्तामोड । कोरोना पोजिभिट देखिएका व्यक्तिलार्ई मेची अस्पताल भद्रपुरमा सुरक्षित राखिएको सूचना अधिकारी मनोज पोखरेलले जानकारी दिएका छन् । उनले कोरोना पोजिटिभ व्यक्तिलाई राखेपछि अस्पतालमा असुरक्षा हुने भन्ने कुरा भ्रम मात्र भएको बताए ।
अहिले मेची अस्पतालको आइसुलेशनमा २२ जना कोरोना पुष्टि भएका व्यक्ति उपचाररत छन् । १० वर्षीया १ बालिका सहित २२ जना पोजिटिभ देखिएका व्यक्तिको साउन २८ गते पुनः स्वाब परीक्षण हुदैछ । त्यसको नतिजाको आधारमा उनीहरुलाई थप व्यवस्था गरिने छ । अस्पतालमा उनीहरुलाई राखेकै कारण असुरक्षित नहुनु पर्ने सूचना अधिकारी पोखरेलको भनाई छ । उनका अनुसार कोरोना पुष्टि भएका व्यक्ति राखेपनि अस्पतालको अवस्था पूर्ववत रुपमै रहेको छ । उनीहरुलाई राखेपनि स्वास्थ्य सुरक्षामा कुनै चिन्ता लिनु नपर्ने बताएका छन् ।
मेची अस्पतालको नयाँ भवनमा संक्रमितलाई राखेर उपचार गर्ने ठाउँ तयार भइरहेको छ । केहि दिनमै १ सय बेढको आइसुलेन तयार गरेर सबै संक्रमितलाई त्यहि राख्छौं, उनले भने । अहिले संक्रमित बसेको ठाउँ अत्यन्तै सुरक्षित छ, उनीहरु हिड्ने र डाक्टर हिड्ने बाटो समेत फरक–फरक रहेको पोखरेलको भनाई छ । संक्रमितलाई राखेपछि विरामी अस्पताल आउन छोडेको हो भन्ने जिज्ञासामा पाखरेलले भने, उनीहरुको कारण कतै असुरक्षा छैन, बरु बाहिर लापरबाही गरेर हिड्ने सर्वसाधारण असुरक्षित हुन सक्छन् । मनको डर मात्रै हो पाखरेलले भने, अस्पतालमा पूर्ण रुपमा सुरक्षित छ ।
अस्पताल विकास समितिका अध्यक्ष सोमनाथ पोर्तेलले कोरोनाको उपचार गर्ने ठाउँमा कुनै हालतमा लापरवाही नहुने बताएका छन् । उनले जिम्मेवार संस्थाले जिम्मेवारी पूर्वक काम गर्ने भएकाले विश्वस्त रहन आग्रह गरेका छन् । अन्य विरामी र कोभिड–१९ का विरामीका लागि सबै व्यवस्था अलग–अलग र व्यवस्थित गरिएको उनको भनाई छ । उनले केहि दिनमै नयाँ भवनमा राखेर उपचार शुरु गरिने जानकारी दिएका छन् ।