असार १०, २०८२ मंगलबार

धनुषामा कोरोनाबाट थप एकको मृत्यु भएको पुष्टि

धनुषा । धनुषामा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । विदेह नगरपालिका–८ निवासी ६० वर्षीय पुरुष बद्री मण्डलको कोरोनाको सङ्क्रमणबाट मृत्यु भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

जनकपुरधामस्थित प्रादेशिक अस्पतालको कोभिड–१९ विशेष अस्पतालमा करिब १८ दिनदेखि आइसीयूमा उपचाररत मण्डलको गए राति कोभिड निमोनियाका कारण मृत्यु भएको कोभिड–१९ अस्पतालका संयोजक डा जामुनप्रसाद सिंहले बताउनुभयो । डा सिंहका अनुसार मृतक मण्डल क्षयरोगले पनि सिकिस्त थिए ।

प्रमुख जिल्ला अधिकारी भट्टराईका अनुसार मृतकको ‘ट्राभल हिस्ट्री’ छैन । प्रमुख जिल्ला अधिकारी भट्टराईले भन्नुभयो, “मृतक मण्डलको ट्राभल हिस्ट्री छैन, धनुषामा समुदायस्तरमै कोरोना सङ्क्रमण फैलिसकेको हुनसक्छ ।”

मृतकको शव नेपाली सेनाले व्यवस्थापन गर्ने तयारी गरिरहेको प्रजिअ भट्टराईले बताउनुभयो । मृतकको शव अहिले प्रादेशिक अस्पतालमै राखिएको छ । यसअघि आइतबार मृत्यु भएका एक पुरुषमा सोमबार कोरोना पुष्टि भएको थियो । योसँगै धनुषामा कोरोनाले मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । 

प्रकाशित मिति : श्रावण २७, २०७७ मंगलबार  १० : ०६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]