बैशाख २९, २०८२ सोमबार

मेची अस्पताललाई आइसोलेसन संचालनका लागि १० लाख, प्रदेशभर १ करोड ६० लाख

विराटनगर : स्थानीय तह र अस्पताललाई कोरोना भाइरस नियन्त्रण तथा उपचारका लागि प्रदेश १ सरकारले १ करोड ६० लाख रकम उपलब्ध गराएको छ ।  आइसोलेसन केन्द्र स्थापना र सञ्चालनका लागि १ करोड ६० लाख रकम उपलब्ध गराएको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ । यो स्थानीय तह र अस्पताललाई दिएको थप रकम हो । 

यसपटक ११ वटा जिल्ला अस्पताललाई कम्तिमा १० वेड क्षमताको आइसोलेसन केन्द्र बनाउन बजेट उपलब्ध गराएको मुख्यमन्त्री शेरधन राईले बताए । केही दिन अगाडि मात्र थप आइसोलेसन बेडहरुको व्यवस्था गर्न प्रदेशस्तरीय सिसिएमसी बैठकले निर्णय गरेको थियो । 

प्रदेश सरकारले विराटनगर महानगरपालिकास्थित मारवाडी सेवा समाजमा ५० बेड क्षमताको आइसोलन केन्द्र बनाउनको लागि महानगरपालिकालाई १० लाख रकम उपलब्ध गराएको छ ।यस्तै रंगेली नगरपालिका ७ स्थित श्रीजनता क्याम्पसको भवनमा १०० बेड क्षमताको आइसोलेशन बनाउन रंगेली नगरपालिकालाई १५ लाख, सुनसरी जिल्लाको हरिनगर गाउँपालिका-१ स्थित वि. जेनेरल अस्पतालमा ५० बेड क्षमताको आइसोलेशन बनाउन हरिनगर गाउँपालिकालाई १० लाख रकम बितरण गरेको छ । 

बराहक्षेत्र नगरपालिका स्थित रमानन्द आचार्य सेवा पिठ, चतरामा १०० बेड क्षमताको आइसोलेशनको लागि १५ लाख र सोलुदुधकुण्ड नगरपालिकालाई आइसोलेसन केन्द्र स्थापना र संचालन गर्न ५ लाख प्रदेश सरकारले उपलब्ध गराएको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बताए । 

त्यस्तै प्रदेश नं १ का ताप्लेजुङ, पाँचथर, इलाम, धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर, खोटाङ्ग, सोलुखुम्बु, ओखलढुंगा र उदयपुर जिल्ला अस्पतालहरुलाई कम्तिमा १० बेड क्षमताको आइसोलेसन स्थापना र संचालन गर्न ५ लाखका दरले एकमुष्ट ५५ लाख रकम प्रदेश सरकारले उपलब्ध गराएको छ । 

कोभिड-१९ आइसोलेसन अस्पताल गोठगाउँ मोरङलाई २० लाख, कोभिड-१९ आइसोलेसन केन्द्र, चौदण्डीगढी उदयपुरलाई ५ लाख र मेची अस्पताल झापालाई १० लाख रुपैयाँ आइसोलेसन संचालनका लागि उपलब्ध गराएको छ । 

त्यस्तै बेलबारी नगरपालिका, उर्लाबारी नगरपालिका र थुलुङ्ग दुधकोशी गाउँपालिकालाई क्वारेन्टाइन व्यवस्थापन र सञ्चालनका लागि पाँच-पाँच लाख प्रदेश सरकारले निकासा गरेको छ ।

प्रदेश १ मा कोरोना संक्रमित थपिदै गएको र लक्षण सहितका बिरामी बढ्न थालेपछि प्रत्येक अस्पताल र तहमा आईसोलेसन आवस्यक भएकाले दोस्रोपटक रकम उपलब्ध गराएको मुख्यमन्त्री राईले बताए । 

यसअघि प्रदेश १ सरकारले कोरोना नियन्त्रणकै लागि महानगरलाई २० लाख, उपमहानगरलाई १५, नगरपालिकालाई १०, गाउँपालिका र जिल्ला समन्वय समितिलाई ५/५ लाख रकम उपलब्ध गराएको थियो । प्रदेशका अस्पतालको क्षमता बृद्धि र कोरोना उपचारका लागि यस अघि पनि पटक पटक बजेट वितरण गरेको मुख्यमन्त्री राईले बताए ।

प्रकाशित मिति : श्रावण २९, २०७७ बिहीबार  ६ : ०८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]