बैशाख २९, २०८२ सोमबार

झापाका चार पालिकामा लकडाउन

झापा – कोरोना भाइरसको सङ्क्रमण समुदायमा फैलिएसँगै झापाका चार स्थानीय तहले लकडाउन घोषणा गरेका छन्। जिल्लामा समुदायमा रहेका ५१ जना कोरोना सङ्क्रमित भएपछि पालिकाहरु धमाधम लकडाउन हुन थालेका हुन्।

 लकडाउन घोषणा गरिएकामा दमक र मेचीनगर नगरपालिका तथा कमल र बुद्धशान्ति गाउँपालिका छन्। चारवटै पालिकाले एक हप्ताका लागि लकडाउन घोषणा गरेका हुन् ।

दमक नगरपालिकाले नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र दमकका पाँच कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै आजदेखि एक हप्ताका लागि नगरपालिका लकडाउन गरेको हो । 

मेचीनगर नगरपालिकाले आम्दा मेची अस्पतालका चिकित्सक, फुटबल खेलाडीलगायत समुदाय स्तरमा नै कोरोना सङ्क्रमण देखिएपछि तीन दिनदेखि अत्यावश्यक सेवाबाहेक सबै बन्द गरेको छ।

कमल गाउँपालिकाले छिमेकी नगरपालिका दमकमा समुदायमा कोरोना फैलिएको भन्दै आंशिक बन्द गरेको छ। पालिकाले सूचना नै जारी गरेर सातैवटा वडाका जनप्रतिनिधिसहित कर्मचारीको समेत पीसीआर परीक्षण गराउनुपर्ने भएको हुँदा रिपोर्ट नआएसम्म कार्यालय नै नखोलिने जानकारी गराएको छ। सो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठद्वारा जारी गरिएको सूचनामा सङ्क्रमणबाट जोगिन स्वास्थ्य सुरक्षाका उपायहरु पालना गर्न कमल गाउँपालिकाभित्रका जनतालाई समेत अपिल गरिएको छ ।

त्यसैगरी बुद्धशान्ति गाउँपालिकाले छिमेकी मेचीनगर नगरपालिकाका समुदायमा कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै लकडाउन घोषणा गर्नुपरेको जनाएको छ। मेचीनगर र अर्जुनधारा नगरपालिकासँग सीमा जोडिएको बुद्धशान्तिले अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन र पालिकाले तोकेको समयावधिमा मात्र पसल खोल्नसमेत आग्रह गरेको छ।
 
यसअघि अर्जुनधारा नगरपालिका र विर्तामोड नगरपालिकाले समेत एक हप्ता लकडाउन गरेका थिए। समुदायमा कोरोना देखिएपछि सङ्क्रमति व्यक्तिसँग सम्पर्कमा आएका २०० बढी व्यक्तिको कन्ट्याक्ट ट्रेसिङका आधारमा पीसीआर परीक्षणसमेत गरिएको छ।
 
स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईँले समुदायमा ४६ जनामा कोरोना सङ्क्रमण देखिएको बताए। जसमा सबैभन्दा बढी सुरक्षाकर्मी छन्। नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका ३६, विर्तामोड नगरपालिकाका एक, दमक नगरपालिकाका छ, मेचीनगरका तीन, बाह्रदशी गाउँपालिकामा दुई जनामा कोरोना पोजिटिभ देखिएको उनको भनाइ छ।

पन्ध्र पालिका रहेको झापामा समुदायमा कोरोना फैलिएको नगरपालिका तथा गाउँपालिका चार हजार बढीको स्वाब सङ्कलन गरी परीक्षण गरिएको छ।

प्रकाशित मिति : श्रावण ३१, २०७७ शनिबार  ८ : ५० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]