बैशाख ३०, २०८२ मंगलबार

एक हप्ताभित्र नेकपा नयाँ निष्कर्षसहित अगाडि आउँछ : प्रचण्ड

काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक हप्ताभित्र पार्टीमा नयाँ निष्कर्षसहित अगाडि बढ्ने परिस्थिति निर्माण हुने बताएका छन्।

प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओलीले पाँच दिनको म्याद तोकेपछि पार्टीभित्रका विवाद मिलाउन कार्यदल बनेको र सचिवालय बैठक पनि बसेको सन्दर्भ जोड्दै प्रचण्डले अबको एक हप्ताभित्र नयाँ निष्कर्ष आउने बताएका हुन्।

पत्रकार भूषण दाहालको ब्रेभा डेल्टा शो कार्यक्रमलाई अन्तर्वार्ता दिँदै प्रचण्डले बुधबार पार्टी एकतातर्फ उन्मुख भएपनि विवाद समाधान भइनसकेको धारणा राखेका हुन्।

‘प्रधानमन्त्रीले एउटा विश्वासका आधारमा पाँच दिनमै नयाँ परिस्थिति बन्छ भन्नु भएको थियो, यसबीचमा हामीले विवाद समाधानका लागि सुझाव दिन कार्यदल बनायौं र सचिवालय बैठक पनि गर्यौं’, प्रचण्डले भने, ‘अब एक हप्ताभित्र नयाँ निष्कर्षसहित जाने परिस्थिति बन्छ।’

अध्यक्ष प्रचण्डले पार्टी अब महाधिवेशनतिर केन्द्रित हुने भएकाले अहिले ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष पदबाट राजीनामा दिनु नपर्ने संकेत पनि गरे।

‘कार्यदलले सुझाव दिएपछि हामी दुई अध्यक्ष, सचिवालय र स्थायी समितिमा छलफल गरेर विवाद समाधान गर्नतिर लाग्छौं’, प्रचण्डले भने, ‘स्थायी समितिबाट निर्णय गरेर केन्द्रीय समिति बैठक बस्छौं, त्यसपछि महाधिवेशनमा जाने हो।’

पार्टीभित्रको विवाद कसरी समाधान गर्ने भन्ने नै अहिलेको मुख्य बहस हो भन्दै प्रचण्डले कार्यदलले ल्याउने सुझावमा छलफल भएपछि मात्रै के हुन्छ भन्ने प्रष्ट हुने बताए।

उनले पदका लागि पार्टी एकता नभएको र आफ्नो ध्यान पद त्याग्नेतिर रहेको भन्दै पार्टीभित्रको विवाद बाहिर आउने क्रममा पदका लागि झगडा परेजस्तो मात्र देखिएको बताए।

प्रचण्डले मन्त्रीपरिषद र प्रदेशका मुख्यमन्त्रीको फेरबदल पार्टीभित्र छलफल गरेर नै हुने भन्दै कोरोना महामार केही नियन्त्रण भएपछि केन्द्रीय समिति बैठक बस्ने र त्यसपछि महाधिवेशनमा गएर सबै विषय टुंगो लगाउने तयारी रहेको बताए।

पार्टीभित्रको विवाद समाधान उन्मुख भएसँगै अमेरिकी परियोजना एमसीसीको विषयमा पनि समझदारी बन्ने दिशातिर अगाडि बढेको प्रचण्डले बताए।

माओवादी आन्दोलनको चर्चा गर्दै प्रचण्डले त्यसबेलाका सहयात्री मोहन वैद्य, बाबुराम भट्टराई र नेत्रविक्रम चन्दमा पनि पार्टी फुटाएर गल्ती गरिएछ भन्ने महशुस हुँदै गएको बताए।

‘मोहन वैद्य, बाबुराम भट्टराई र नेत्रविक्रम चन्द विप्लव पनि चिन्तित हुनुहुन्छ, अब फेरि एकचोटी (एक हुने) समय आउन खोजेको देख्छु म’, तीन जनासँग नै बेला बेला कुरा भइरहेको बताउँदै प्रचण्डले भने, ‘हामीले विभाजित भएर गल्ती गर्यौं, प्राप्त उपलब्धि पनि जोखिममा पर्ने पो हो कि भन्ने चिन्ता हामी सबैलाई छ।’

प्रकाशित मिति : भाद्र ४, २०७७ बिहीबार  ६ : ३२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]