भदौ १६ देखि शर्तसहित नियमित उडान
काठमाडौं । सरकारले पीसीआर परीक्षण सहज भएका देशहरुबाट शर्तसहितको नियमित उडान गर्ने भएका छन् । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भदौ १६ गतेदेखि नियमित उडान सुरु गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाका अनुसार दैनिक ५०० यात्रु नकट्ने गरी संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्राललयले उडान तालिका बनाउनेछ । यसरी हुने उडानमा नेपाली नागरिक, कूटनीतिक नियोगका कर्मचारीहरु आउन सक्नेछन् र उनीहरुको ७२ घण्टाभित्र पीसीआर टेष्ट गर्दा रिपोर्ट नेगेटिभ आएको हुनुपर्छ ।
र, काठमाडौंमा आएपछि ७ दिन आफ्नै खर्चमा होटल क्वारेन्टिनमा बस्नुपर्नेछ । पीसीआर टेष्ट गरेका र नगरेका यात्रुहरु एउटै विमानमा आए सबैलाई क्वारेन्टिनमा राखिनेछ र त्यसको सबै खर्च एयरलाइन्सले व्यहोर्नुपर्छ ।
यस्तै पीसीआर टेष्ट सहज नभएका मुलुकहरुमा चार्टर फ्लाइट मात्र सञ्चालन हुनेछ । पहिलो चरणमा कोरोना भाइरसको संक्रमण कम भएको र संक्रमण भएपनि सजिलै पीसीआर परीक्षण हुने मुलुकबाट मात्र जहाज नेपाल आउन सक्ने गरी पर्यटन मन्त्रालयले तालिका बनाउने भएको छ ।
मलेसिया, थाइल्याण्ड, हङकङ, अमेरिका, क्यानडा, चीन तथा यूरोपका विभिन्न मुलुकलाई पहिलो चरणमा खुला गर्ने तयारी भएको अर्थमन्त्री तथा सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए ।
उनकाअनुसार दैनिक ५ सय भन्दा नबढ्ने गरी मानिसहरुलाई नेपाल आउने अनुमति मिल्नेछ ।
नेपालीलाई घर फर्काउनु पर्ने तर पीसीआर परीक्षण सम्भव नहुने मुलुकबाट भने चार्टर्ड उडान गरी यात्रु ल्याइने छ । यहाँ नियमित उडान हुने छैन । साउदी अरव, कुवेत, कतारलगायत मुलुक यस्तो सूचीमा छ ।
एउटै जहाजमा पीसीआर परीक्षण गरेका र नगरेका नागरिक ल्याउन पाइने छैन । ल्याएमा सबै यात्रुलाई होटेल क्वारेन्टिनमा राखेर त्यसको खर्च वायुसेवा कम्पनीबाट असुल गरिने भएको छ ।
अब टिकट काट्दै होटेल क्वारेन्टिनको समेत मूल्य तिर्नु पर्नेछ । यस्तो रकम वायुसेवा कम्पनीले होटेललाई भुक्तानी गर्नेछन् ।