बैशाख २९, २०८२ सोमबार

महान्यायाधिवक्ता खरेलको ३० महिना : ३० वटा भवन उद्घाटन

विर्तामोड। भर्चुअल कन्फरेन्समार्फत १० वटा जिल्ला सरकारी वकिल कार्यालय र उच्च सरकारी वकिल कार्यालय पोखराको भवन उद्घाटन गरिएको छ । आज महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले सिंहदरबारस्थित कार्यकक्षबाट अनलाइन भिडियो कन्फरेन्समार्फत नवनिर्मित ११ वटा भवनको उद्घाटन गर्नु भएको हो ।

कोभिड–१९ को जोखिमका कारण सूचना प्रविधिको प्रयोग गरेर भवन उद्घाटन गरिएको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ । महान्यायाधिवक्ताको कार्यालय स्थापनाको ७० वर्षको इतिहासमा पहिलोपटक भर्चुअल बिधिवाट भवन उद्घाटन गरिएको हो । महान्यायाधिवक्ता खरेलले जिल्ला सरकारी वकिल कार्यालय भोजपुर, धनुषा, महोत्तरी, सिरहा, बर्दिया, सल्यान, हुम्ला, कैलाली, डडेलधुरा, दार्चुला र उच्च सरकारी वकिल कार्यालय पोखराको भवन उद्घाटन गर्नुभयो । भवन उद्घाटन गर्दै महान्यायाधिवक्ता खरेलले ‘अप्ठेरो छ’ भनेर चुपचाप बस्न नहुने बरु सचेतता अपनाउँदै काम गर्नुपर्ने बताउनुभयो ।

आज उद्घाटन गरेको भवनमा ५०–६० बर्ष काम गर्न सकिने उल्लेख गर्दै खरेलले भन्नुभयो, ‘अबको दुई महिनामा हामी थप १० वटा भवन उद्घाटन गर्न सक्ने अवस्थामा पुगेका छौं ।’ २०७७ लाई अभियोजन सुधार वर्ष बनाउने उद्घोष गर्दै खरेलले भन्नुभयो, ‘अनुसन्धान र अभियोजन ठिक ढंगले नभए फौजदारी न्यायप्रणाली कमजोर हुन्छ, त्यसैले सरकारी वकिल ब्यावसायिक हुनैपर्छ ।’ ‘सुन्नुपर्दैन, आँखाले हेर्नुस् दिमाग लगाउनुस्, अन्यथा पीडितले न्याय नपाउने अवस्था आउँछ’, सरकारी वकिलहरुका निर्देशन दिँदै खरेलले भन्नुभयो, ‘अपराधका साक्षीलाई हाम्रो नजिक राखौं ।’ सरकारी वकिल कार्यालयमा आउँदा पीडित खुसी हुनुपर्ने उल्लेख गर्दै खरेलले भन्नुभयो, ‘पीडितले मेरो पीडामा मल्हम लगाउने काम सरकारी वकिलबाट हुन्छ भन्ने फिल गराऔं ।’ भर्चुअल कन्फरेन्समा सहभागी सुदूरपश्चिमका मुख्य महान्यायाधिवक्ता कुलानन्द उपाध्यायले प्रहरीमा अनुसन्धान गर्ने अधिकृतहरुको छुट्टै युनिट खडा गर्न जरुरी रहेको बताउनुभयो । उपाध्यायले उठाएको सो प्रस्तावमा समर्थन गर्दै महान्यायाधिवक्ता खरेलले अपराध अनुसनधानमा प्रहरीभित्र छुट्टै युनिट बनाएर गएमा त्यसबाट राम्रो परिणाम आउने बताउनुभयो । उहाँले भन्नुभयो, ‘विशेषज्ञ रहने गरी अपराध अनुसन्धान गर्ने प्रहरीमा छुट्टै युनिट बनाऔं ।’

आधुनिक न्यायप्रणालीमा वस्तुनिष्ठ प्रमाणलाई ध्यान दिनुपर्ने भन्दै खरेलले त्यसका लागि सरकारी वकिलले कानुनी रुपमा अनुसन्धानकर्तालाई निर्देशित गर्नुपर्ने बताउनुभयो । भर्चुअल उद्घाटनमा सहभागी प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले नेपाल प्रहरीमा सादा पोशाकमा काम गर्ने ७ प्रतिशत प्रहरीलाई अनुसन्धान गर्न तोकिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘आगामी दिनमा सादा पोशाकमा काम गरिरहेका प्रहरीलाई अनुसन्धानमा मात्र लगाउने गरी विशेषीकृत गर्न गइरहेका छौं ।’

भौतिक रुपमा उपस्थित भएर पूर्व भोजपुरदेखि पोखरासम्मको भवन उद्घाटन गर्दा धेरै दिन लाग्न सक्थ्यो । तर, भर्चुअल बिधिबाट दुईघण्टाको अवधिमा ११ वटा भवन उद्घाटन सम्पन्न भएको छ । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलको तीस महिनाको कार्यकालमा तीस वटा भवन उद्घाटन भएका छन् । महान्यायाधिवक्ताको कार्यालयको इतिहासमा एउटै महान्यायाधिवक्ताले यति धेरै भवन उद्घाटन गरेको यो पहिलो अवसर हो । यसै आर्थिक वर्षमा थप आठ भवन निर्माण सम्पन्न हुने अवस्था रहेको छ । महान्यायाधिवक्ता कार्यालयका अनुसार ३० वटै कार्यालय भवन सुविधा सम्पन्न छन् । सवै भवनमा पीडित मैत्री र बालमैत्री कक्ष रहेका छन् ।

प्रकाशित मिति : भाद्र ७, २०७७ आईतबार  ८ : ०२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]