झापामा कोरोना संक्रमितको संख्यामा गडबढ
बिर्तामोड । झापामा कोरोना संक्रमितको संख्यामा गडबढ हुन थालेको छ । केहि देखि स्वास्थ्य मन्त्रालयले हरेक दिन गर्ने अपडेट र जिल्लास्थित स्वास्थ्य कार्यालय झापाको संख्यामा तलमाथि हुन थालेपछि सर्वसाधारण अन्यौलमा परेका छन् ।
आज आइतवार दिउँसो ४ः१५ बजेको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको संख्या र स्वास्थ्य कार्यालय झापाले सार्वजनिक गरेको संख्या फरक परेको छ । यता , स्वास्थ्य कार्यालय झापा र बिर्तामोड नगरपालिकाको पनि फरक परेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले आइतवारको अपडेटमा झापाको संख्या २८ जना भनेका थिए । एकैछिन पछि स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले ३२ जना संक्रमित रहेको जानकारी गराएका थिए ।

स्वास्थ्य कार्यालय झापाले ३२ जनामध्ये बिर्तामोड नगरपालिकाका १५ जना संक्रमित भनेको थियो । तर, बिर्तामोड नगरपालिकाले सार्वजनिक गरेको सूचनामा १६ जना लेखिएको छ । संक्रमितको संख्या गडबढ हुँदा सर्वसाधारण कुन निकायको सूचनालाई सत्य मान्ने भन्ने अन्यौलमा परेका छन् ।
