युवाको सक्रियतामा क्यान्सर पीडित मुर्मूको उपचार हुँदै
बिर्तामोड । झापा गाउँपालिका –६ भृकुटी चोककी ५९ वर्षीया बाहा मुर्मूको क्यान्सर रोगको उपचारमा स्थानीय युवाले सक्रियता देखाएका छन् । स्थानीय अगुवा युवा अनेरास्ववियूका केन्द्रीय सदस्य मनोज ताम्ली, प्रेम विष्ट र केशव चापागाई लगायत अन्य युवाको सक्रियतामा मुर्मूको चितवनस्थित विपि कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भइरहेको छ ।

गरिव तथा विपन्न परिवारकी मुर्मूको उपचारमा आर्थिक समस्या भएपछि युवाहरुले सहयोग संकलन गरेर उपचार गर्दै आएका छन् । बिर्तामोडको बिर्तासिटी अस्पतालमा मुखको क्यान्सर प्रमाणित भएपछि उनको उपचारका लागि युवाहरुकै पहलमा एक महिनाअघि चितवन लगिएको थियो ।
लकडाउनको समयमा आवतजावत समेत समस्या भएपछि विधार्थी नेता ताम्लीले आफ्नै पहलमा एम्बुलेन्स लिएर मुर्मूलाई चितवन लगेका थिए । अहिले उनको अपरेशन भइसकेको छ, ताम्लीले भने – अपरेशनपछिको थप उपचार चलिरहेको छ ।
स्थानीय युवाहरु साथै देश विदेशमा रहेका साथीभाईसँग सहयोगका लागि अपील गरेपछि मुर्मूको उपचारमा आर्थिक सहयोग जुटिरहेको ताम्लीले जानकारी दिए । अहिलेसम्म डेढ लाख करिव खर्च भइसकेको छ । सहयोग संकलनबाटै हालसम्मको उपचार गरिएको हो । उनले थप उपचारका लागि समेत सहयोग आउने क्रम जारी रहेको बताएका छन् ।