मेची अस्पतालको आइसोलेसनमा रहेका कोरोना संक्रमितलाई फलफूल वितरण
रोहित काफ्ले
भद्रपुर । गैरसरकारी संस्था महासंघ झापाशाखाले कोरोना संक्रमण पुष्टि भई मेची अस्पतालको आइसोलेसनमा उपचाररतहरुलाई फलफूल वितरण गरिएको छ । ४१ औँं सामाजिक सेवा दिवसको अवसर पारेर महासंघका पदाधिकारीहरुको टोली मंगलबार अस्पताल पुगेर आइसोलेसनमा बसेकाहरुका लागि फलफूल उपलब्ध गराएको हो ।

अस्पतालको प्रशासनिक सभाहलमा एक संक्षिप्त कार्यक्रम आयोजना गरी महासंघको टोलीले भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ र उपप्रमुख चन्द्रमाया श्रेष्ठलाई संयुक्त रुपमा फलफूल एकमुष्ठ हस्तान्तरण गरेको थियो भने नगर प्रमुख श्रेष्ठले ती फलफूल कोभिड–१९ को मापदण्ड पालना गरी आइसोलसनमा रहेका बिरामीलाई वितरण गर्न अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. पिताम्बर ठाकुर र आइसोलसन कक्षका संयोजक डा. गोविन्द कँडेललाई प्रदान गर्नुभयो ।
फलफूलदिन गैसस महासंघ झापा अध्यक्ष हरि गौतम, केन्द्रीय सदस्य छविलाल खतिवडा, झापाका सचिव सोमराज ढकाललगायत अस्पताल पुग्नुभएको थियो ।
मेची अस्पतालको आइसोलेसन वार्डमाहाल २७ जना सक्रिय संक्रमितको उपचार भइरहेको र सबैको अवस्था सामान्य रहेको डा. कँडेलले जानकारी दिनु भयो ।
गैसस महासंघ झापाले यस वर्षको सामाजिक दिवस कोभिड–१९ को स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्दै साताव्यापी रुपमा मनाउने निर्णय गरे अनुसार पहिलो दिन फलफूल वितरणको कार्य गरिएको अध्यक्ष गौतमले जानकारी दिनु भयो । अब गौरीगञ्ज, गौरादह लगायत जिल्लाका सबै क्वारिन्टनमा सामाजिक परामर्श दिइने सचिव ढकालले बताउनु भयो ।