अपांगतामाथि कोरोनाको सकस : छोराछोरीलाई मासिक बाह्र हजार सहयोग गर्ने घोषणा
झापा । सुरेश कुमार कुर्मी कोरोनापछि घरबाट बाहिर निस्कन पाएका छैनन् । घरबाट बाहिर निस्कन नसक्ने भएपछि परिवारको खर्च धान्न धौ–धौ भइसक्यो । शारिरीक रुपमा अशक्त कुर्मीका दुवै खुट्टा चल्दैनन् । कोरोना महामारीअघि उनी भारतबाट खाद्य सामग्री नेपाल ल्याउँदै विक्री गर्दै आफ्नो परिवारको दैनिकी चलाउथे । तर, नेपाल–भारत सीमामा अहिले सामान ल्याउन सहज नभएपछि उनीहरुको परिवारमा अभाव बढेको छ । उनकी श्रीमति रेनु कुर्मी पनि अशक्त छिन् । उनका पनि खुट्टा राम्रोसँग टेकिदैनन् ।

श्रीमानले वारिपारी गर्दै धानेको परिवारमा कोरोनाले समस्या उब्जाए पछि उनले छोराछोरीको पालन पोषण गर्न नसक्नै भन्दै हार गुहार गरे । तीन जना छोराछोरीलाई दैनिक खाद्यन्न जुटाउन समस्या भएपछि स्थानीय द्रोण निरौलालाई उनले सहयोग गरिदिन आग्रह गरेका थिए । निरौलाले बिर्तामोडमा रहेको तारा नमस्ते बालग्रामलाई सहयोग गरिदिन आग्रह गरेपछि बिहीवारबाट संस्थाले तीन बालबालिकाको अभिभावकत्व ग्रहण गरेको छ ।

झापा भद्रपुर –१ पृथ्वीनगरका अशक्त, विपन्न परिवारमा पुगेर तीन जना बालबालिकाको लागि अभिभावकत्व लिएको जानकारी दिइएको छ । बिहीवार घरै पुगेर संस्थाका अध्यक्ष नारायण पोखरेलले तीन बालबालिकाको लागि मासिक खर्च वापत १२ हजार उपलब्ध गराउने जानकारी दिए । उनले पहिलो महिनाको १२ हजार हस्तान्तरण गरिदिएका छन् ।
दैनिक आवश्यकता , शिक्षा र स्वास्थ्य समेत हेर्ने गरी बालग्रामले मासिक खर्च उपलब्ध गराउदै जाने संस्थाका अध्यक्ष पोखरेलले बताए । उनका अनुसार बालग्रामको सहयोगी संस्थाले उपलब्ध गराएको सहयोग प्राप्त हुञ्जेलसम्म परिवारलाई मासिक रुपमा प्रदान गरिनेछ ।
कुर्मीका २ छोरा भुपेश र रुपेश छन् भने छोरी भूमिका छिन् । उनीहरु सबै स्थानीय हिमालीमा अध्ययन गर्दै आएका छन् । सो परिवारले छोराछोरीलाई बालग्राममै लैजान भनेको थियो । तारा नमस्ते बालग्रामले बुबाआमा रहेका सन्तानलाई अनाथलयमा राख्न नमिल्ने भएकाले उनीहरुकै घरमा राखेर सहयोग गर्ने सोच बनाएको हो । दशैंका लागि संस्थाले आवश्यक खाद्यान्न समेत उपलब्ध गराएको छ ।
सो बालग्रामले अहिले १४ जना बालबालिकालाई बिर्तामोडमा राखेर हेरचाह गर्दै आएको छ ।