बैशाख २६, २०८२ शुक्रबार

निर्णायक आन्दोलनमा उत्रिए संस्थागत विधालयका शिक्षक कर्मचारी

इटहरी । प्रदेश १ मा कार्यरत संस्थागत विद्यालयका शिक्षक कर्मचारीहरूले देशमा सरकार छ कि छैन भनेर सुनसरीको इटहरीमा खोजी गरेका छन् । श्रमजीवि शिक्षक कर्मचारी ६ महिनायता पारिश्रमिक विहीन भएपछि राज्यको नीति नियम पालना गराउने सरकारले न्याय दिलाउन भूमिका नखेलेको भन्दै सरकार भए नभएको खोजी गरेका हुन् ।

निर्णायक आन्दोलनमा उत्रिएको संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) ले प्याब्सन, एन प्याब्सनको नाममा प्रचलित नेपालको कानुन तथा नीति नियम विपरित भइरहेका गतिविधि नियन्त्रण गर्न सरकार असफल भएको ठहर गर्दै सरकार बिरूद्ध सडकमा आएको हो । इस्टु प्रदेश १ का अध्यक्ष यादवप्रसाद अधिकारीको नेतृत्वमा सरकारको लाचार प्रवृत्ति, विद्यालय सञ्चालकको अराजक आचरण बिरूद्ध चर्को नारावाजी गर्दै सुनसरीको इटहरीको मुख्य चौक परिक्रमा पश्चात इटहरी उपमहानगरपालिकोको मूल गेटमा कोण सभा सम्पन्न गरिएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै अध्यक्ष अधिकारीले शिक्षक कर्मचारीको चुलो बल्दैन भने अब नीजि विद्यालय चल्दैन भन्दै नाङ्ले शैलीमा विद्यालय सञ्चालनको सपना नपाल्न चुनौति समेत दिए । कार्यक्रममा प्रगतिशील प्राध्यापक संघ सुनसरीका अध्यक्ष गोपीकृष्ण खतिवडाले नीजि विद्यालय सञ्चालकहरूले नाफा खान मात्र विद्यालय सञ्चालनको सोच पालेका कारण समस्या बल्झेको भन्दै घाटा देखाउने सञ्चालकहरूलाई अघिल्ला वर्षहरूका हिसावकिताव सार्वजनिक गर्न माग गरेका छन् ।

कोण सभामा युएनटो प्रदेश १ का सहसंयोजक राजु बरालले सम्बोधन गर्दै विद्यालय सञ्चालन नाङ्लामा थापिएको घुम्ती पसल नभएर ऐन नियममा रहेर गरिने व्यवस्थित सेवामुलक व्यवसाय रहेको धारणा राखेका थिए । कम्पनी ऐन अनुसार सञ्चालनमा रहेका निजी विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरूले ६ महिनायता नियमित पारिश्रमिक पाउन सकेका छैनन् भने शिक्षक कर्मचारीप्रति जिम्मेवार हुन नसकेका सञ्चालक तथा प्याब्सन, एन प्याब्सनका गतिविधि बिरूद्ध आन्दोलित भएको युनियनले तलव भुक्तानी हुनु पर्ने एक सुत्रिय माग राखेर सडकमा उत्रिएको छ ।

प्रकाशित मिति : आश्विन १७, २०७७ शनिबार  ९ : २४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]