कम्युनिष्ट पार्टीका सदस्यलाई अमेरिका आप्रवासनमा रोक लगाउने भन्ने होइन : दुतावास
काठमाडौं । नेपालस्थित अमेरिकी राजदूतावासले अमेरिकी भिसाका सम्बन्धमा पछिल्ला दिनमा प्रकाशित केही भ्रामक सूचनाका सम्बन्धमा दूतावासको ध्यानाकर्षण भएको जनाएको छ । मंगलबार दूतावासले जारी गरेको सूचनामा ‘हामी के स्पष्ट पार्न चाहन्छौं भने नीतिहरू वा दशकौं पुरानो कम्युनिष्ट पार्टी या निरंकुश राज्यहरूबाट अमेरिकामा आप्रवासन हुने प्रावधानमा कुनै पनि परिवर्तन नगरिएको’ स्पष्ट पारेको छ ।

त्यसैगरी, यसले नेपाल कम्युनिष्ट पार्टीका सदस्यहरूको अमेरिका आप्रवासनमा आफ्सेआफ रोक लगाउने भन्ने होइन किनभने अमेरिकी भिसासम्बन्धी निर्णय हरेक भिसा आवेदकहरूको आवेदनका आधारमा गरिन्छ । अमेरिकी नागरिक तथा आप्रवासन सेवाले हालसालै प्रशासनिक निर्देशिका जारी गरेको हो (खासमा एक सूचनामूलक जानकारी ) र यो अमेरिकामै रहनुभएका आप्रवासीहरूको आवेदनमा काम गरिरहनुभएका (य.ूएस.सी.आइ.एस) अधिकृतहरू रहेको दूतावासले स्पष्ट पारेको छ । यससम्बन्धी सञ्चारगृहहरूले भ्रम पैदा गरेको दूतावासको ठहर छ ।
सन् १९५२ मा अमेरिकी कङ्ग्रेसले आप्रवासन तथा नागरिकता ऐन पारित गरेको थियो । जस अनुसार कुनै कम्युनिष्ट वा अधिनायकवादी पार्टीहरूसँगको संलग्नता अथवा सदस्यता भएका व्यक्तिहरूलाई अमेरिका आप्रवासनमा रोक लगाइएको थियो ।
यो कानूनमा धेरै अपवाद र छुटको व्यवस्था गरिएको छ, जसले अन्य तवरले योग्य पार्टी सदस्यहरूलाई अमेरिका आप्रवासनको अनुमति दिइन्छ । साथै, याे कानून अस्थायी रूपमा वा गैर आप्रवासन प्रयोजनको लागि अमेरिका भ्रमण गर्न चाहनुहुने व्यक्तिहरूलाई कुनै असर नगर्ने दूतावासले बताएको छ । ‘विचार या पृष्ठभूमिमा विविधता भएका आवेदकहरूलाई हामी सधैं स्वागत गर्दछौं । हामी नेपालको बहुदलीय लोकतन्त्रको सम्मान गर्दछौं’ सूचनामा उल्लेख गरिएको छ । ७३ वर्षदेखि निरन्तर रूपमा नेपालको निर्वाचित सरकार र जनतासँग लोकतन्त्रको थप सुदृढीकरणका लागि काम गरिरहने दूतावासले प्रतिबद्धता जनाएको छ ।