झापामा सत्तारुढ तीन विधार्थी संगठनलाई पूर्णता दिन नेताहरुको दौडधुप
बिर्तामोड । सत्तारुढ दल नेकपाको विधार्थी संगठन अनेरास्ववियू झापाको एकतालाई पूर्णता दिन जोड घटाउ शुरु भएको छ ।
जिल्लामा पूर्व माओवादीको अनेरास्ववियु (क्रान्तिकारी), पूर्व एमालेको अनेरास्ववियु भूगोल कमिटी र क्याम्पस कमिटीलाई समायोजनपछि एउटै कमिटी बनाउन विधार्थी नेताहरु बिच दौडधुप शुरु भइसकेको छ । तीन वटा कमिटीलाई एउटै बनाउन र बढि भन्दा बढि आफ्ना सदस्यलाई नयाँ कमिटीमा राख्न विधार्थी नेता र पार्टीका नेता समेतले सक्रियता देखाएका छन् ।
असोजभित्रै जिल्ला कमिटी टुङ्गो लगाउनु पर्ने केन्द्रको सर्कुलर अनुसार तीन कमिटीलाई एउटै बनाउन सहज देखिएको छैन । तीन वटा कमिटीभित्रको चार वटा खेमा समेतलाई अटाउनु पर्ने भएपछि विधार्थी नेताहरु आफ्ना पकड विधार्थीलाई अटाउन कसदिरहेका छन् । जिल्ला कमिटीमा पूर्व माओवादीको संख्या अत्यन्तै कम हुने देखिएको छ । उनीहरु विधार्थी संगठनमा आफ्नो पकड जमाउन नेताहरुसँग लविङ गरिरहेको सूचना बाहिर आएको छ ।
झापाको लागि संयोजक र सहसंयोक टुङ्गिएको छ । संयोजकमा अनिल सुवेदी र सहसंयोजकमा दुर्गा धमलाले यसअघि नै जिम्मेवारी पाइसकेका छन् । जिल्ला कमिटी ६१ सदस्य रहने बुझिएको छ । ६१ भित्र आफ्नालाई च्याप्नै पर्ने बाध्यता भएपछि अखिल झापाको समायोजन रोचक बन्ने निश्चित छ । जिल्लामा प्रभावशाली संगठनका रुपमा हेरिने विधार्थी संगठनको कार्यलय कमिटी ७ सदस्यीय रहने व्यवस्था सर्कुलरमा उल्लेख छ । कार्यलय कमिटी ७ जनाको रहने भएपनि दर्जनौको नाम चर्चामा छ । इजलासलाई प्राप्त सूचना अनुसार कार्यलय कमिटीमा रञ्जन धमला, सरस्वति चम्लागाई, कविन्द्र पौडेल,रोशन खड्का, रोशन लामा, समर्पण खतिवडा,कमल पौडेल,रोशन भण्डारी, राजेश कार्की,लक्ष्मी न्यौपाने र सागर योङहाङको संभावना धेरै छ । यसमध्ये ५ जना छानिने छन् । दुई जना संयोजक र सहसंयोजक रहने व्यवस्था छ । पूर्व माओवादीबाट ३ जना र पूर्व एमालेबाट ४ जना कार्यालय कमिटीमा रहनेछन् । २१ सदस्यीय सचिवालय बन्ने बुझिएको छ ।