बैशाख ३०, २०८२ मंगलबार

दुई वर्षभित्र बिएण्डसीमा मुटु प्रत्यारोपण गर्छौ : डा.अवन कुमार

विर्तामोड । झापाको विर्तामोडस्थित बिएण्डसी अस्पतालले पहिलो पटक अत्याधुनिक क्याथ ल्याब सञ्चालनमा ल्याएको छ। मुटुसम्बन्धी उपचारका लागि प्रयोग हुने क्याथमा अत्याधुनिक उपकरण जडान गरिएको छ। यो मेसिन अस्पतालले पाँच दिनदेखि प्रयोगमा ल्याएको अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले जानकारी दिए ।

अस्पतालमा शनिबार आयोजित पत्रकार सम्मेलनमा मुटुसम्बन्धी सम्पूर्ण उपचार बिएण्डसी अस्पतालमा उपलब्ध गराउन अत्याधुनिक मेसिन र उपकरणसहित क्याथल्याब सञ्चालनमा ल्याएको निर्देशक प्रसाईंले जानकारी दिएका छन् । क्याथ ल्याब तयारी र सञ्चालनमा मात्रै करिब ५० करोड खर्च भएको प्रसाईंले बताए। प्रसाइका अनुसार क्याथ ल्याबको मेसिनलाई मात्रै २५ करोड रुपैयाँ पर्छ।

बिएण्डसी अस्पतालमा क्याथ ल्याब सुरू हुनुलाई मुटु उपचारका लागि देशकै लागि नयाँ फड्को मारेको बिएण्डसी अस्पतालका वरिष्ठ मुटु रोग विशेषज्ञ डा. उमेश यादवले बताए।
उनले भने,‘क्याथ ल्याब देशका अन्य अस्पतालमा पनि छन् तर बिएण्डसीमा सञ्चालनमा ल्याएको क्याथ ल्याब जस्तो अत्याधुनिक छैन।’

पाँच दिनदेखि क्याथ ल्याबमार्फत् ५ जना मुटुका बिरामीको उपचार भइरहेको र सबैको उपचार सफल भएको डा. यादवले बताए। बिएण्डसीको क्याथ ल्याबमार्फत् सेवा लिएर अस्पतालमा उपचार गराइरहेका मेचीनगर ८ का नारायण कोइरालाले मुटुसम्बन्धी उपचारका लागि बिएण्डसी अस्पताल आफूलाई भरपर्दो लागेको बताए।

एक हजार जनाको मुटु प्रत्यारोपण गरेका भारतीय चर्चित मुटुरोग विशेषज्ञ डा. अवन कुमारले अबका दिनदेखि बिएण्डसी अस्पतालमा सेवा दिने बताए।

भारतमा नै पहिलो पटक सन् २०११ मा सफल मुटु प्रत्यारोपण सेवा सुरू गरेर चर्चामा आएका चेन्नइका फुर्टिज अस्पतालमा कार्यरत डा. अवन कुमारले मुटुका बिरामीलाई बिएण्डसीमा उपचार गर्ने बताए। कानुनी जटिलता सहज भए अबको दुई वर्षभित्र बिएण्डसी अस्पतालमा नै नेपालमा पहिलो पटक मुटु प्रत्यारोपण हुने डा. अवन कुमारले पत्रकार सम्मेलनमा दाबी गरे। आफूले अहिलेसम्म १ हजार मुटु प्रत्यारोपण गरिसकेको डा. अवन कुमारले दाबी गरेका छन् ।
पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक प्रसाईले तत्कालै नेपालमा स्लाइन उत्पादन गर्ने समेत जानकारी दिएका छन् ।

प्रकाशित मिति : कार्तिक २३, २०७७ आईतबार  ९ : ३१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]