बैशाख ३०, २०८२ मंगलबार

अधिकारकर्मीकै परिवारमा जातीय विभेद : बुहारीले दिइन् प्रहरीमा किटानी जाहेरी

गणेश लम्साल

विराटनगर – जातीय विभेदविरुद्धका अभियन्ताकै परिवारमा बुहारीमाथि जातीय विभेद भएको छ । मोरङमा दलित अधिकारको पक्षमा काम गर्दै आएका दीपक गहतराज (विश्वकर्मा)को परिवारमा बुहारीमाथि विभेद भएको हो । विभेदपछि उनी न्यायका लागि प्रहरी कार्यालय पुगेकी छिन् । 

सानो जातको भन्दै ससुराको किरिया सगोलमा बस्न नदिएपछि मोरङ उर्लाबारी नगरपालिका–४ आइतबारेकी ३० वर्षीया बुहारी कोपिला बर्देवाले परिवारका सदस्यविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएकी छिन् ।

उनले श्रीमान्, सासू, जेठाजु र जेठानीहरूलाई कानुनी कारबाहीको माग गर्दै जाहेरी दर्ता गराएकी हुन् ।  कोपिला १३ कात्तिकमा ७० वर्षको उमेरमा निधन भएका कांग्रेस महासमिति सदस्य तथा दलित संघका केन्द्रीय सदस्य भीमलाल गहतराज (विश्वकर्मा)की कान्छी बुहारी हुन् । स्वर्गीय भीमलालले लामो समय दलित अधिकारको पक्षमा संघर्ष गरेका थिए । उनका जेठा छोरा दीपक हाल दलित संघ उर्लाबारी नगर समितिका अध्यक्ष हुन् । सगोलमा पितृसंस्कार गर्नबाट वञ्चित गरिएकी कोपिला सोही संघको नगर समितिमा कोषाध्यक्ष छिन् । 

११ दिनको कर्म सकेर किटानी जाहेरी
परिवारका सदस्यले सगोलमा पितृसंस्कार गर्न रोकेपछि उनी बाहिरै किरिया बसेकी थिइन् । आइतबार ११ दिनको काम सकेपछि इलाका प्रहरी कार्यालय उर्लाबारी पुगेर उनले किटानी जाहेरी दर्ता गराएकी हुन् । उनले आफू दमाइ जातको भएकै कारण ससुराको सामूहिक अन्त्येष्टि र पितृसंस्कार कार्य गर्नबाट वञ्चित गराएको जाहेरीमा उल्लेख गरेकी छिन् । 

जाहेरीमा जातीय विभेद तथा छुवाछुत कसुर, २०६८ बमोजिम कारबाहीको माग गरेकी छिन् । उर्लाबारी नगरपालिका–४ आइतबारे घर भएकी सासू ५५ वर्षीया सुनीता गहतराज, ३६ वर्षीय श्रीमान् दिवस गहतराज, जेठाजुहरू दीपक र शम्भु, जेठानी ३२ वर्षीया तारा गहतराज र आफन्त झापा बिर्तामोड घर भएकी २५ वर्षीया शारदा घतानीविरुद्ध जाहेरीमा कारबाहीको माग गरेकी छिन् ।

दिवस र कोपिलाबीच दश वर्षअगाडि विवाह भएको हो । उनीहरूका आठ वर्षकी छोरी छिन् । ससुराको निधनपछि उनलाई परिवारका सदस्यले नै सामूहिक अन्त्येष्टिकै क्रममा अभद्र व्यवहारसमेत गरेका थिए । ‘ममाथि भएको अमानवीय कार्यले मेरो मानव अधिकार हनन् गरेको छ,’ उनले भनिन्, ‘जातीय विभेद तथा छुवाछुत कसुर र सजाय ऐन, २०६८ को गम्भीर उल्लंघन गरिएकाले सबैलाई कानुनअनुसार कारबाही गरिनुपर्छ ।’ 

सौतेनी समस्याले सगोलमा राख्न नसकेको परिवारको भनाइ
जातीय विभेदको घटना बाहिर आएपछि गहतराज परिवारले पनि विज्ञप्ति जारी गरी आफ्नो बचाउ गरेको छ । सौतेनी समस्याले कान्छी बुहारीलाई सगोलमा काजकिरियामा सामेल गराउन नसकेको भन्दै उनीहरूले आफूहरूले कुनै विभेद नगरेको दाबी गरेका छन् । अधिकारकर्मीहरूले भने विभेदको घटनालाई ढाकछोप गर्न गहतराज परिवार योजनाबद्ध रूपमा लागेको बताएका छन् । स्वर्गीय भीमलालका दुई श्रीमती सगोलमा काजकिरिया गरिरहेको भन्दै अधिकारकर्मीहरूले कान्छी बुहारीलाई सौतेनी मामिलाका कारण सहभागी गराउन नसकेको भनेर आफूलाई बचाउन खोजिएको दाबी गरेका छन् ।

यस्तो छ कानुनी व्यवस्था
सो ऐनअनुसार निजी वा सार्वजनिक स्थानमा कसैले कसैलाई जात, पेसा, वर्णका आधारमा जातीय विभेद तथा छुवाछुत गरे चार वर्षसम्म कैद सजाय, एक लाख रुपैयाँसम्म जरिवाना र पीडितलाई बिगोअनुसार क्षतिपूर्तिको व्यवस्था छ । सरकारवादी फौजदारी कानुनअन्तर्गत रहेको यो कानुनअनुसारका जाहेरी परेपछि प्रहरीले आरोपितलाई पक्राउ गरेर अनुसन्धान गरी अदालमा बुझाउनुपर्छ । जाहेरीमा किटान गरिएकाहरू हाल सगोलमा किरिया बसिरहेका छन् ।

कानुनी कारबाही गर्न अधिकारकर्मीको माग
सगोलमा किरिया गर्नबाट वञ्चित गर्नेहरूविरुद्ध कानुनी कारबाही हुनुपर्ने अधिकारकर्मीहरूको भनाइ छ । क्रेज नेपालका अध्यक्ष गोपाल नेपाली, मिक्लाजुङ युवा मञ्चका अध्यक्ष विनोद दर्नाल र अधिकारकर्मी प्रदीप परिवारले संयुक्त विज्ञप्ति जारी गर्दै कारबाहीको माग गरेका हुन् ।

उनीहरूले सानो जातको भनी पीडितलाई ससुराको पितृसंस्कार कर्म गर्नबाट वञ्चित गरी विभेद गरिएको भन्दै दोषीलाई कानुनी कारबाहीको माग गरेका हुन् । घटनाको स्थलगत अध्ययन, पीडित कोपिला बर्देवाको बयान, पीडक परिवार र प्रत्यक्षदर्शीसँगको छलफलबाट कोपिलामाथि जातीय विभेद भएको प्रस्ट भएको छ,’ क्रेज नेपालका अध्यक्ष नेपालीले भने । नयाँ पत्रिकाबाट

प्रकाशित मिति : कार्तिक २४, २०७७ सोमबार  ९ : ३५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]