झापामा प्रहरीद्वारा २० लाख ३१ हजारको पटाका नष्ट
विर्तामोड । जिल्ला प्रहरी कार्यालय झापाले तिहारमा पड्काउनका लागि अवैध रुपमा भित्र्याइएको पटाका नष्ट गरेको छ । बिहीवार पत्रकार सम्मेलनको आयोजना गरेर जिल्ला प्रहरी कार्यालयले कार्यलय परिसरमै खाल्डो खनेर पटाका परेको छ ।

जिल्लाका विभिन्न नाकाबाट प्रहरीले असोज २३ गतेदेखि हालसम्म बरामद् गरेको पटाका नष्ट गरेको झापाका प्रहरी उपरीक्षक कृष्ण कोइरालले जानकारी दिए । उनका अनुसार २० लाख ३१ हजार ५ सय बराबरको पटाका नष्ट गरिएको छ । जिल्ला प्रहरी कार्यालयको मातहतमा रहेका प्रहरी कार्यालयहरुले विशेष सूचनाका आधारमा नेपाल भित्र्याउन खोजिएका पटाका बरामद गरेका थिए । प्रहरीले पटाका धनी को हुन् खुलाएको छैन ।
