नेपाल विरुद्ध बंगलादेश : सम्पूर्ण जानकारी
खेल सुरु हुने समय साँझ ४:४५ बजे
स्थान :बंगबन्धु रंगशाला
प्रत्यक्ष प्रसारण : टि-स्पोर्ट्स बंगलादेश (हाम्रो खेलकुदमा खेल सुरु हुनुअघि लिंक उपलब्ध हुनेछ)
खेलअघि के भन्छन् कप्तान र प्रशिक्षक ?
घरेलु टोलीविरुद्ध मैदान उत्रँदा नेपाली टोली जितको लक्ष्यमा हुनेछ । खेल अघिको प्रि–म्याच पत्रकार सम्मेलनमा नेपाली टोलीका प्रशिक्षक बालगोपल महर्जनले टोलीको प्रशिक्षण राम्रो भएकाले घरेलु टोलीविरुद्ध राम्रो नतिजाका लागि खेल्ने बताएका छन् ।
‘मैत्रीपुर्ण खेलका लागि हामी (नेपाल) लाई निमन्त्रणा गरेकोमा बंगलादेश फुटबल फेडेरेसनलाई धेरै धेरै धन्यवाद । तर, मैत्रीपुर्ण खेलका लागि हामीले थोरै समय पायौ । तर, खेल्न पाउनु नै ठुलो कुरा हो,’ खेल अघिको पत्रकार सम्मेलनमा प्रशिक्षक महर्जनले भने ।
‘टिमको प्रशिक्षण राम्रो रहेको छ । विश्वकप छनोटको लागि यो खेल तयारी खेल हुनेछ । यो अवस्था निकै चुनौतीपुर्ण अवस्था हो । तर चुनौती सामना गर्न टोली तयार छ ।’
यस्तै प्रशिक्षक महर्जनले केही सिनियर खेलाडी चोट र कोरोनाका कारण टोलीमा नरहेको र बंगलादेशमा पनि एक खेलाडीमा कोरोना देखिएको बताउदै यसले पनि टोलीमा केही प्रभाव पर्न सक्ने थपे ।
यता, टोलीका कप्तान किरण चेम्जोङले लामो समयपछि फुटबल खेल्न पाउदा उत्साहित रहेको बताए । ‘मैत्रीपुर्ण खेलको लागि तयारी राम्रै रहेको छ । अहिलेको अवस्थामा खेल्न सहज छैन । यो हाम्रो लागि शारीरिक र मानसिक रुपमा तयार रहन राम्रो अवसर हो,’ कप्तान चेम्जोङले भने ।

घरेलु टोली बंगलादेश पनि घरेलु भुमिमा सकरात्मक नतिजा निकाल्ने दाउमा हुनेछ । यसपटक नेपाली फुटबल टिममा आठ नयाँ अनुहार रहेका छन् । दुई खेलको मैत्रीपूर्ण सिरिजको विजेता टोलीले ट्रफी पनि प्राप्त गर्नेछ । यदि दुवै खेल बराबरीमा सकिएको खण्डमा दोस्रो खेलको अन्त्यमा पेनाल्टी सुटआउट हुनेछ ।