जेष्ठ १, २०८२ बुधबार

प्रधानमन्त्री इलामको सन्दकपुर आउँदै

इलाम – प्रधानमन्त्री केपी शर्मा ओली आउँदो मंसिर ५ गते इलामको उत्कृष्ट पर्यटकीयस्थल सन्दकपुर (३ हजार ६ सय ३६ मिटर) डाँडामा आउने भएका छन्। भारतीय सीमा निरीक्षणका लागि प्रधानमन्त्री ओली सन्दकपुर क्षेत्रका कालपोखरी, जौबारीलगायत स्थानमा आउने तय भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।  

प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाईंले प्रधानमन्त्रीले भारतीय सीमा क्षेत्रमा स्थापना भइरहेका बोर्डर आउट पोस्ट (बिओपी) निरीक्षण गर्ने कार्यक्रम रहेको बताए। ‘प्रधानमन्त्रीको कार्यालयबाट आउँदो ५ गतेका लागि उहाँ (प्रम ओली)को जौबारीलगायत क्षेत्र भ्रमणको तालिका आएको छ,’ प्रजिअ सेढाईंले भने, ‘तर, त्यस दिन दिउँसो साढे १ बजेदेखि २ बजेसम्ममात्रै प्रधानमन्त्री सीमा क्षेत्रमा रहनुहुनेछ।’  

ताप्लेजुङको घुन्सालगायत क्षेत्रमा सीमा अवलोकन गरी प्रधानमन्त्री ओली इलाम आउने भएका हुन्। ‘प्रमको भ्रमणबारे गृह मन्त्रालयबाट चाहिँ थप जानकारी आइसकेको छैन,’ प्रजिअ सेढाईंले भने, ‘जिल्लास्तरमा चाहिँ सुरक्षा निकायको बैठक बसेर उहाँको भ्रमणका लागि सुरक्षा योजना तय गर्दैछौं।’  

पूर्वी नेपालको भारतीय भू–भाग सन्दकपुरदेखि जिर्मलेसम्म साढे ५२ किलोमिटर छ। यी क्षेत्रमा सरकारले अहिले धमाधम बिओपी स्थापना गर्दैछ। पशुपतिनगर, कालपोखरी, छब्बिसे, समालबुङ, सलकपुर, जौबारी र मानेभञ्ज्याङमा बिओपी थपिँदैछ। कोभिड–१९ नियन्त्रणका लागि जौबारी, मेघमा, मानेभञ्ज्याङ, छब्बिसे, हिले, खोलागोदाम, समालबुङ, सलकपुर र लाङ्केटमा यसअघि नै सशस्त्रको टोली राखिएको थियो। यो क्षेत्रमा भारतले चाहिँ भारतीय सीमा सुरक्षा बल (एसएसबी)का २६ बिओपी र एउटा प्रहरी चेकपोस्ट राखेको छ।  

सीमा क्षेत्र र दशगजाका विषयमा बेला–बेला विवाद हुनेगरेको छ। नापी विभागले केही वर्षअघि यो क्षेत्रमा १७ मुख्य सीमास्तम्भ हुनुपर्नेमा १६ वटा फेला परेको जनाएको थियो। भएका १६ मध्ये पनि १२ वटा मर्मत गर्नुपर्ने अवस्थामा छन् भने ४ मुख्य सीमास्तम्भ मात्रै सग्ला पाइएको विभागको तथ्यांक छ। यो दूरीमा ८३ सहायक सीमास्तम्भ हुनुपर्नेमा ७२ वटा र ४६ साना सीमास्तम्भ हुनुपर्नेमा २१ मात्रै भेटिएका छन्। मुख्य १२, सहायक ५० र साना १९ गरी ८१ सीमास्तम्भ मर्मत गर्नुपर्ने अवस्थामा पाइएका छन्। यीबाहेक सहायक ७ र साना २ सीमस्तम्भ पुनर्निर्माण गर्नुपर्ने अवस्थाका छन्।

प्रकाशित मिति : कार्तिक २८, २०७७ शुक्रबार  ४ : ०१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]