अनलाईनबाटै अर्जुनधारामा अनुष्ठानको तयारी
अर्जुनधारा । अर्जुनधारा धाम समितिले बालाचतुर्दशीका दिन पितृ मोक्षका लागि घरआँगनमै दीप प्रज्वलन गरी सत्बीज छर्न आग्रह गरेको छ । करेसाबारी वा तुलसीको वरिपरी सत्बीज छर्न आग्रह गरिएको समितिका अध्यक्ष नविन गट्टानीले जानकारी दिए ।

समितिको बैठकले यो वर्ष अर्जुनधारा जलेश्वर धाममा ३८ औं धार्मिक अनुष्ठान भव्य नगर्ने सहमति गरेको छ । कोरोनाको जोखिम भएका कारण अनुष्ठान भव्य नगर्ने बताइएको छ । विभिन्न संघसंस्था जनप्रतिनिधि र नगरका प्रतिनिधिबीच भएको छलफलले अनुष्ठानलाई भव्य नमनाउने सहमति गरेको हो । ३८ औं अनुष्ठान अनलाइन मार्फत सम्पन्न गरिने धाम समितिले जनाएको छ ।
मंसिर २१ गतेदेखि हुने अनुष्ठानलाई निरन्तरता दिनका लागि पुराण वाचक, उपवाचक र कर्ता बीच पुराणका पाठ हुने छ । उक्त पाठ मिडियामार्फत अनलाईन गरिने तयारी गरिएको छ । समितिले घरैमा बसी सुन्न र हेर्न भक्तजनलाई आग्रह गरेको छ । दैनिक दुई घण्टा अनलाईनबाट पाठ गरिने बताइएको छ ।