डेरा लिएर लागू पदार्थको कारोबार गर्ने पक्राउ
काँकडभिट्टा – प्रहरीले २८ ग्राम ब्राउन सुगरसहित झापा मेचीनगर ७ बाट चार जनालाई आइतबार पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका अनुसार मेचीनगर ७ सिद्धार्थ टोलस्थित अशान्ति राजवंशीको घर डेरामा लिएर लागू पदार्थको कारोबार गर्दै आएका मेचीनगर ७ का २९ वर्षीय सीताराम आङ्देम्बे, २२ वर्षीया मनिषा मगरलाई १३ ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको हो ।

उनीहरुको साथबाट ब्राउन सुगर बिक्री गरेर राखिएको १ लाख ३३ हजार नगदसमेत बरामद गरिएको प्रहरी नायव उपरीक्षक राजेन्द्र पोख्रेलले जनाए ।
त्यस्तै ब्राउन सुगर खरिद गर्न धरानबाट आएका धरान ५ बस्ने २४ वर्षीय कल्याण राई र धरान १६ का २४ वर्षीय रिजन लकान्द्रीलाई समेत पक्राउ गरिएको छ । प्रहरीले उनीहरु चढी आएको को ३५प ७०१६ नम्बर मोटरसाइकल समेत बरामद गरिएको छ । अभियुक्तलाई थप अनुसन्धानका लागि हिरासतमा लिइएको प्रहरीले जनाएको छ ।