गुप्तासँग विधालयको साढे २४ लाख असुलउपर गर्नु : लेखापरीक्षक
विर्तामोड । निरन्तरको ताकेतापछि चिमरिया एण्ड कम्पनीले अर्जुनधारा –६ मा रहेको लक्ष्मी माविलाई लेखापरीक्षकको प्रतिवेदन बुझाएको छ । भदौ मसान्तसम्ममा बुझाउनु पर्ने आर्थिक वर्ष ०७४/०७५ र ०७५/७६ को आर्थिक प्रतिबेदन गएको मंगलवार बुझाइएको विधालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्र काफ्लेले जानकारी दिए ।
विधालयमा लामो समय व्यवस्थापन समिति बन्न नदिएर एकलौटी विधालय सञ्चालन गरेका निवर्तमान प्रधानाध्यापक विरेन्द्र प्रसाद गुप्ताको आर्थिक पारदर्शितामा आशंका गरेर विव्यसले पुनःलेखापरीक्षण गर्ने निर्णय गरेको थियो । विधालयमा हरहिसाव समेत नबुझाई विधालयबाट विदा भएका गुप्ता हाल झापा गाउँपालिकास्थित डिल्लीराज माविको प्रधानाध्यापकका रुपमा कार्यरत छन् ।

हरहिसाव बुझाउन अभिभावक र अर्जुनधारा नगरपालिकाले तीब्र दवाव दिँदा समेत विधालय नपुगेका गुप्तालाई जिल्ला प्रशासन कार्यालय झापाले पत्र काटेर हिसाव बुझाउन निर्देशन दिएको थियो । पटक–पटकको आग्रहलाई अटेर गरेका गुप्तालाई प्रशासनको चिठीले तातो लगाएको थियो । गुप्ताले आर्थिक अनियमितता समेत गरेको हुन सक्ने भन्दै व्यवस्थापन समितिले लेखापरीक्षण गर्न भद्रपुर– १० का चुडामणी चिमरियालाई जिम्मा दिएको थियो । लेखापरीक्षणको लागि अर्जुनधारा नगरपालिकाले आवेदन खुलाएको थियो । आवेदनकै आधारमा चिमरियाले लेखापरीक्षणको जिम्मा पाएका हुन् । उनले समयमा प्रतिवेदन नदिएकोमा विधालयसँग सरोकार राख्नेहरुले गुनासो समेत गर्दै आएका थिए ।
लेखापरीक्षकले दिएको प्रतिवेदनमा विधालय पक्षले चित्त बुझाउने ठाउँ नभएको व्यवस्थापन समितिका सदस्य राम घिमिरेले जानकारी दिए । विभिन्न शिर्षकका हिसाव आम्दानी नबाँधेको उनको अरोप छ ।
आ.व. ०७५/७६ को प्रतिवेदनमा निवर्तमान प्रधानाध्यपक गुप्ताले विधालयलाई २४ लाख ५३ हजार २ सय ४९ रुपैयाँ ८२ पैसा बुझाउनु पर्ने देखिएको छ । लेखापरीक्षकले लेखा नीति तथा टिप्पणीमा गुप्ताबाट उक्त रकम अशुलउपर गर्न लेखेका छन् । विधालयबाट झण्डै २ वर्षअघि विदा लिइसकेका गुप्ताले सो रकम नबुझाई अर्को विधालय गएका थिए ।
नगरले लेखा परीक्षण गराएपछि गुप्ताले विधालयमा गरेको मनमौजी खुलासा हुन शुरु भएको छ । उनले विधालयमा कार्यरत शिक्षक–कर्मचारीको आय कर राजश्व कार्यालयमा दाखिला नगरेको देखिएको छ । यस्तै, सरसफाईमा प्रयोग हुने फिनल खर्च दोहोरो देखाइएको उल्लेख छ ।
यस्तै, गुप्ताले आ.व. ०७४/७५ मा विज्ञान सामग्री खरिदको विल नल्याएको प्रतिबेदनमा उल्लेख गरिएको छ । ३ लाख ४४ हजार ४ सय ४९ रुपैयाँको सामग्री खरिदमा विल नल्याएको विषयलाई मौखिक जवाफका आधारमा खर्चमा समावेश गरिएको छ । उनले सो समयमा कार्यरत शिक्षक देवनारायण माझीलाई तलब बाहेक ४३ हजार ३ सय ३३ रुपैयाँ बढि रकम दिएको लेखापरीक्षकले टिप्पणीमा उठाएका छन् । सो रकम विधालयलाई फिर्ता गराउन गुप्ताले पहल नगरेको आरोप छ ।
व्यवस्थापन समितिका अध्यक्ष काफ्लेले नगरपालिकाको विज्ञ टोली, सामाजिक लेखा परीक्षण टोली र विधालय पक्षबिच प्रतिवेदन उपर आवश्यक छलफल गर्ने जानकारी दिए ।