हुलाकी सडकको चर्चा धेरै भए पनि काम देखिएन : मन्त्री घिमिरे
विराटनगर । सप्तरीदेखि झापाको भद्रपुरसम्म निर्माण भईरहेको हुलाकी राजमार्ग आगामी २ बर्षभित्रमा सञ्चालनमा आउने भएको छ । ३ सय ४३ किलोमिटर हुलाकी राजमार्गको करिव ४८ प्रतिशत काम सम्पन्न भएको हुलाकी राजमार्ग आयोजनाले जनाएको छ ।

हुलाकी सडकको कामबारे आइतवार प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले आयोजना प्रमुख दीपेन्द्र पाण्डेसँग जानकारी लिएका छन् । पाण्डेले करिव ४८ प्रतिशत काम सम्पन्न भएको जानकारी दिए । चालु आर्थिक बर्षमा पुलहरुको काम सम्पन्न गर्ने र २ बर्षभित्रमा सडकको काम सम्पन्न गरिने पाण्डले जानकारी गराए । उनले मन्त्री घिमिरेलाई झापाका ८ वटा पुल, मोरङको रतुवामाईमा रहेको पुलका लागि टेण्डरको काम भई सकेको बताए । उनले भने,‘ रंगेली र विराटनगरमा सडकमा केही समस्या छ ।’ रंगेलीको केही स्थानमा निर्माणको डिजाईन अनुसार नभएको र विराटनगरमा कोशी राजमार्ग पूर्वपश्चिम जोड्नका लागि समस्या भएको पाण्डेको भनाई छ । हुलाकी राजमार्गमा कुन सडकबाट जोड्नेबारे समस्या भएको बताएका छन् । विराटनगरमा ६ किलोमिटर सडकमा समस्या भएकाले टेण्डरको काम हुन नसकेको आयोजना प्रमुख पाण्डेले मन्त्री घिमिरेलाई जानकारी गराएका छन् ।
सामाजिक विकास मन्त्री घिमिरेले आगामी २ बर्षभित्रमा राजमार्ग सञ्चालन गर्नेगरि काम गर्न आयोजना प्रमुखलाई निर्देशन दिएका छन् । उनले सडक निर्माणमा भएका समस्याबाट प्रदेश सरकारले पनि पहल गर्ने बताए । हुलाकी सडकको चर्चा धेरैभएपनि काम नदेखिएको मन्त्री घिमिरेले बताए । विराटनगर क्षेत्रको समस्याबारे छलफल गर्न सकिने उनको भनाई थियो ।
मन्त्री घिमिरेले डिभिजन सडक कार्यालयका प्रमुख पशुपति ज्ञवालीसँग पनि मोरंग सुनसरीका पुलको अवस्थाका बारेमा पनि जानकारी लिएका छन् । ज्ञवालीले चालु आर्थिक बर्ष भित्रमा करिव १० वटा पुल निर्माण सम्पन्नको चरणमा रहेको बताए । पुल निर्माणका लागि आवश्यक बजेट विनियोजन नहुँदा निर्धारित समयमा काम पुरा हुन नसकेको उनको भनाई छ । सडक निर्माण भएपनि पुल निर्माण सम्पन्न नहुँदा समस्या भएका पुलहरुको निर्माण भईरहेको मन्त्री घिमिरे समक्ष जानकारी गराएका छन् ।