बैशाख २८, २०८२ आईतबार

शिखरको दशौं बार्षिक सभा : दोहोरो सदस्यता लिने ५३९ जना कटौती

बिर्तामोड । शिखर बचत तथा ऋण सहकारी संस्थाको दशौं बार्षिक साधारणसभा आज सम्पन्न भएको छ । संस्थाले नेपाल सरकार सहकारी विभागको सहकारी संस्थाको साधारणसभा संचालन निर्देशिका अनुरुप विश्वव्यापी महामारी कोभिड–१९ लाई मध्यनजर गदै सामाजिक दुरी कायम गर्दै स्वास्थ्य मापदण्ड पूरा गरी साधारणसभा सम्पन्न गरेको हो ।

जिल्ला सहकारी संघ झापाका अध्यक्ष एवं राष्ट्रिय सहकारी महासंघका केन्द्रीय सदस्य गणेश ढकालको प्रमुख आतिथ्य, जिल्ला बचत तथा ऋण सहकारी संघ ( नेफस्कुन)का जिल्ला अध्यक्ष एवं केन्द्रीय सदस्य घनश्याम अधिकारीको विशिष्ठ आतिथ्य र उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमियाको आतिथ्यतामा संस्थाले आफ्नै भवनमा १०औ बार्षिक साधारणसभाको समापन गरेको छ ।

१० बर्षअघि बिर्तामोडको भद्रपुर रोडमा मुख्य कार्यालय रहेर संचालनमा आएको यस संस्थाले १० औं वर्षसम्म आईपुग्दा २ करोड १० लाख रुपैयाँमा आफ्नै भवन खरिद गर्न सफल भएकोमा संस्थाका सदस्यहरुले खुशी व्यक्त गरेका छन् । यो कोभिडको बेलामा समेत संस्थाले रु १ करोड एक लाख १५ हजार १२१ आम्दानी गर्न सफल भएकोमा अतिथिहरुबाट प्रशंसा पाएको छ । प्रविधिको क्षेत्रमा शिखर साकोस पूर्वाञ्चलमै अव्वल रहेको छ ।

नयाँ–नयाँ प्रविधि भित्र्याएर सदस्यहरुलाई प्रविधिमैत्री बनाउँदै लगिने संस्थाको योजना रहेको छ । सदस्य र संस्थाबीचको सम्वन्धलाई संस्थाले विशेष ध्यान दिएको छ । साधारणसभाले प्रस्तावित योजना , बजेट ,नीति तथा कार्यक्रम सर्वसम्मत पारित गरेको छ । सामाजिक संजालमार्फत , सेवा केन्द्र मार्फत ५ हजारले उपस्थिति जनाएको र गणपुरक संख्या पुगेपछि सदस्यहरुको राय,सुझाव, सल्लाहलाई सम्वोधन गर्दै साधारणसभा समापन गरिएको संस्थाका अध्यक्ष दिपेन्द्र राउतले जानकारी दिए । उनले एक ब्यक्ति, एक सहकारीको नीतिलाई अवलम्बन गर्दै यस वर्ष दोहोरो सदस्यता लिने ५३९ जना सदस्यलाई कटौती गरिएको जानकारी दिए ।

कार्यक्रममा प्रमुख अतिथि जिल्ला सहकारी संघ झापाका अध्यक्ष ढकालले उत्पादनसँग सदस्यलाई जोड्ने गरी आयातलाई प्रतिष्थापन गर्न सामाजिक उद्यमशीलताको क्षेत्रमा अगुवाई गर्न शिखर साकोसलाई आग्रह गरे ।

प्रकाशित मिति : मंसिर २२, २०७७ सोमबार  ५ : ११ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]