कृषि उत्पादनमा विचौलियाको रँझाई : सम्पादकीय
प्रदेश १ का जिल्लाहरुमध्ये झापामा सबैभन्दा धेरै धान उत्पादन भएको तथ्याङक सार्वजनिक भयो । धान उत्पादनमा सधैं अगाडि रहने झापाले यो वर्ष पनि रेकर्ड कायम गरेको छ । मल र कृषि मजदुरको चरम अभावका बिच पनि किसानले धान उत्पादनमा रेकर्ड राख्न सफल भए । किसानले उत्पादन गरेको धान अहिले कुन्यूमा छ । केहि किसानले धान झारेर विक्री गरिसके । कतिपय किसानले धान उत्पादन गरिसक्दा साहुलाई ऋण वापतको रकम तिर्दातिर्दै ठिक्क हुन्छ ।
अहिले धानको खरिद विक्रि चलिरहेको छ । किसान आफ्नो मेहनत अनुसारको मुल्य चहान्छन् । सरकारले धानको समर्थन मुल्य तोकिसकेको छ । किसानले उत्पादन गरेको धानको मुल्य सन्तोषजनक समेत छैन । किसानको उत्पादनमा विचौलियाको रँझाई छ । विचौलिया र व्यापारीले किसान मारेका छन्, भन्दा अनर्थ हुदैन । धानको प्रतिमन ११ सय भन्दा बढि तोकिए पनि मुल्य पाउन गाह्रो छ । किसानले ८ सय रुपैयाँ प्रतिमन भन्दा बढि पाउने अवस्था बनिरहेको छैन । सरकारले किसानको धानलाई विचौलियाको हातबाट जोगाउन सोहि अनुरुपको योजना, कार्यक्रम ल्याउन जरुरी छ ।
धान मात्र होइन, किसानले उत्पादन गर्ने सबै कृषि उत्पादनमा विचौलियाको हावी छ । कुनै पनि हालतमा विचौलियाको विगविगी अन्त्य गर्न सरोकारका क्षेत्र सक्रिय बन्नुपर्ने देखिन्छ । झापाको बिर्तामोडमा रहेको कृषि बजारमा उस्तै समस्या छ । किसानबाट सित्तैमा जस्तै गरी लिइने कृषि बस्तुको मुल्य व्यापारीसम्म आइपुग्दा किनिसक्नुको छैन । गाउँमा १० रुपैयाँ प्रति केजी कोभी उठाएर विचौलियाले बजारसम्म ल्याउँदा ६० देखि ७० रुपैयाँसम्म प्रति केजी विक्रि भइरहेको छ । यसैले कृषि बस्तुमा किसानले उचित मुल्य पाउनुपर्छ । कृषि वा कुनै पनि क्षेत्रबाट विचौलिया लखेटिनुपर्छ ।