कनकाई नगरपालिकाको आफ्नै लोगो
प्रदीप परियार
बितामोड । झापामै पहिलो पटक कनकाई नगरपालिका सुरुङाले नगरको विशेषता झल्किने लोगो प्रयोगमा ल्याएको छ । स्थानीय सरकार सञ्चालन ऐन –२०७४ ले लोगो बनाउन पालिकालाई अधिकार दिएको थियो ।

कनकाई नगरपालिकाले सोही ऐनले व्यवस्था गरे बमोजिम लोगो बनाएको मेयर राजेन्द्र पोखरेलले जानकारी दिए । लोगो झापाका पवन राजवंशीले बनाएका हुन् ।
कनकाई नगरपालिकाले सभाबाट पारित गरेर पाँच महिनादेखि लोगो प्रेयोग गर्दै आएको छ । सरकारले नयाँ निशान छाप प्रयोगमा ल्याएसँगै कनकाईले पनि आफ्नै लोगो बनाएको हो ।
कनकाई नगरपालिका धार्मिक क्षेत्र पनि भएकाले लोगोको शिरमा मन्दिर राखिएको छ । पवित्र कनकाई नदि, चुरे क्षेत्र समावेश गरिएको लोगोमा वरपिपल पनि देखाइएको छ ।

कनकाईमा सामुदायिक वन क्षेत्रभित्र वरपिपल रोपणलाई प्राथमिकता दिएकाले लोगोमा वरपिपल देखाइएको मेयर पोखरेलले जानकारी दिए । उनले नगरभित्र सबै भन्दा धेरै उत्पादन हुने धानलाई (बाला)पनि लोगोमा समावेश गरिएको बताए । नगरले आधिकारिक कागजातहरुमा निशान छाप एकातिर र अर्का तिर नगरको लोगो प्रयोग गर्दै आएको छ ।