कचनकवलले लक्ष्मी क्याम्पसलाई पैसा तिर्नैपर्छ : सम्पादकीय
नेपालकै होचो भूभाग कचनकवल गाउँपालिकाले गत वर्षको नीति तथा कार्यक्रममा निःशुल्क शिक्षाको कार्यक्रम ल्यायो । शिक्षा नै निशुल्क गर्ने मुद्दाले गर्दा गाउँपालिकाको चौतर्फी प्रशंसा भयो । संविधानले व्यवस्था गरेको निशुल्क शिक्षालाई व्यवहारिक कार्यान्वयन गर्न गाउँपालिकाको प्रयासले सकारात्मक चर्चा पनि कमायो । अहिले त्यहि विषय विवादका रुपमा सार्वजनिक भइरहेको छ । परीक्षाको तयारीमा रहेका विधार्थीलाई शुल्क बुझाउन क्याम्पसले गरेको सार्वजनिक सूचनाले तनाव दिएको छ ।
कचनकवलमा रहेको लक्ष्मी क्याम्पसमा अध्ययन गर्ने छात्राका लागि गाउँपालिकाले निशुल्क शिक्षाको घोषणा गरेको थियो । तर, क्याम्पसलाई गाउँपालिकाले बुझाउनुपर्ने रकम नबुझाए पछि विधार्थीसँगै असुल्ने तयारी देखिएको छ । चौथो वर्ष अध्ययन गरिरहेका विधार्थीको परीक्षालाई नै प्रभावित हुने गरी गाउँपालिका र क्याम्पस बिचको विवाद बाहिर आएको छ । निशुल्क शिक्षाको घोषणा गरेको गाउँपालिकाले विवाद झिकेर विधार्थीको भविष्यमाथि खेलवाड गर्न मिल्दैन ।
लक्ष्मी क्याम्पसमा सो क्षेत्रका आदीवासी विधार्थीको बाहुल्यता छ । गरिव, विपन्नका लागि गाउँपालिकाले ल्याएको कार्यक्रममा अत्यन्तै सान्दर्भिक र अत्यावश्य थियो । तर, विधार्थीलाई आशा देखाएर गाउँपालिकाले अन्तिममा आएर यस प्रकारको धोका दिन हुदैन । लोकप्रियताक नाममा गाउँपालिकाले विधार्थीको जीवनमा खेल्न पनि मिल्दैन । यता, गाउँपालिकाले तिरिदिने भनेपछि क्याम्पसले शुल्क बढाएको आरोप छ । क्याम्पसले स्थानीय सरकारले निशुल्क पढाउने भनिरहँदा शुल्क वृद्धि गर्नु पनि सान्दर्भिक छैन । त्यो क्याम्पसको कमजोरी हो । क्याम्पसले आफ्नो तहबाट भएको कमजोरीलाई सच्याएर गाउँपालिकासँगको विवाद समाधान गर्न भूमिका निर्वाह गर्नुपर्छ ।