विपि वाटिकामा विवाद नगर
सम्पादकीय
समुदायको संरक्षणबाट स्थापना गरिएको विपि स्मृति वन वाटिकामा तीन वर्षपछि झिकिएको विवादले स्थानीय संरक्षकहरुलाई दुखी बनाएको छ । ०४४ सालदेखि समुदायकै अगुवाईमा कनकाई नगरपालिका–५ तुलसीबारीमा स्थापना गरिएको वाटिकामा अन्तिमका हेरालु ज्ञानेन्द्र भट्टराईले अनावश्यक विवाद शुरु गरेका छन् । उनी वाटिकाका अन्तिम समयमा हेरालु हुन् । उनलाई सम्बन्धित पक्षले सम्मानका साथ त्यहाँबाट विदा समेत गरिसकेको प्रमाण भेटिएको छ । वाटिकाको ४ विगा ८ कठ्ठा १६ धुरु माटो मध्ये ५ कठ्ठा उब्जनी हुने जग्गा थियो । बाँकी क्षेत्रमा रुख विरुवा लगाइएको छ ।
तीन वर्षअघि सो वाटिका हेर्न राखिएका हेरालु र नजिकका किसानसँग जग्गा छुट्याएर स्वतन्त्र रुपमा वाटिका स्थानीय तहलाई जिम्मा दिइयो । जोतभोग गर्नेहरुका बिच वाटिका समिति, संरक्षक र जनप्रतिनिधि बिच भएको सहमति बमोजिम सबै समस्याको समाधान गरिएको थियो । अहिले विवाद झिक्ने भट्टराईका बुवा त्यहाँका हेरालु थिए । बुबाको निधनपछि ज्ञानेन्द्रले सोहि काम गरे । त्यसै वापत उनलाई घाँस दाउरा प्रयोग गर्न दिइयो । ५ कठ्ठा जग्गामा भट्टराईले कृषि उत्पादन गरेर उब्जनी खाँदै आएका थिए । त्यो पनि उनलाई हेरालु वापत सुविधा दिएको थियो ।
अन्तिमका हेरालुसहित सबै सम्बन्धितसँग सहमति भए पछि त्यहाँ वडा नं. ५ को कार्यलय र स्वास्थ्य चौकी निर्माण भइरहेको छ । सँगै विपि पार्क बन्दैछ । बाल उद्यान निर्माणको चरणमा छ । नेपाली कांग्रेसको अगुवाईमा सो क्षेत्रको शुरुवातबाट संरक्षण भयो । अहिले कम्युनिष्ट पार्टीबाट निर्वाचित मेयर राजेन्द्र पोखरेल, वडा अध्यक्ष कृष्ण राईले त्यसको विकासमा योगदान गरिरहेका छन् । साझा सम्पत्तिको रुपमा रहेको वाटिका निर्माणमा जनप्रतिनिधिले पार्टी र विचार हेरेका छैनन् । यसैले विभिन्न बहानामा जनप्रतिनिधिमाथि बद्नाम गर्ने प्रयास गर्नु आफैमा राम्रो होइन् । यसैले यदि कसैको उक्साहटमा वाटिकाले विस्थापित गरेको कुरा उठाइएको हो भने क्षमा माग्नुको विकल्प छैन ।