बैशाख २९, २०८२ सोमबार

नगर अस्पतालको अनुगमन गरियोस्

सम्पादकीय

झापाको बिर्तामोड नगरपालिकामा अहिले तीब्र गतिमा नगर अस्पताल निर्माण भइरहेको छ । स्वास्थ्य क्षेत्रमा नगरले गरेको यो प्रयासलाई सबैले धन्यवाद दिएका छन् । मानव जीवनकै संवेदशनशील मानिने स्वास्थ्यमा नगरको चासो महत्वपूर्ण देखिएको छ । अस्पताल निर्माणको क्रममा छ । अहिले निर्माणाधिन अवस्थामा रहेको संरचनामा सबैको आँखा परेकै छ । त्यहाँ प्रयोग हुने निर्माण सामाग्रीदेखि विविध पक्षलाई स्थानीय सरोकारवालाले नियालिरहेकै पाइएको छ । सार्वजनिक सम्पत्ति भएकाले त्यसको निर्माण सम्झौता बमोजिम हुनुपर्ने एकमत छ ।

अस्पतालमा प्रयोग भइरहेको ईटाको सन्दर्भमा कुरा उठेका छन् । १ नम्बर ईटा प्रयोग हुनुपर्ने भए पनि अहिले प्रयोग भइरहेका ईटा ३ नम्बर ईटा भएको स्पष्ट छ । स्थानीय अगुवा र अनुगमन समितिले ईटाका बारेमा मेयर धु्रव कुमार शिवाकोटीलाई अवगत गराइसकेका छन् । मेयर शिवाकोटीले पनि निर्माण कम्पनीलाई ध्यानाकर्षण गराइसके । एउटा स्वास्थ्य संस्था निर्माणमा निर्माण कम्पनीले लापरबाही गर्नु भनेको हदैसम्मको लापरबाही हो । जहाँ सुरक्षा पहिलो प्राथमिकतामा हुन्छ । ईटा प्रयोगका बारेमा प्रश्न उठाउँदै गर्दा अन्य निर्माण सामग्रीमा पनि उत्तिकै शंका उब्जिएका छन् ।

पौने ५ करोडको लागतमा निर्माण भइरहेको बिर्तामोड नगर अस्पतालमा सम्झौता अनुरुप निर्माण गर्नैपर्छ । त्यहाँ सम्झौता भए अनुसारका निर्माण सामग्रीको प्रयोग भएकै हुनुपर्छ । यस प्रकारका प्राविधिक लापरबाहीले आगामी दिनमा संरचनाको टिकाउ र सुरक्षामाथि प्रश्न खडा गर्नेछ । आम नागरिकको सुरक्षाको लागि नगर अस्पतालको मुख्य सरोकार निकायले तत्काल त्यहाँ उब्जिएको समस्या समाधानमा जिम्मेवार बन्नैपर्छ । निर्माण कम्पनी, नगरपालिका र अनुगमन समितिले गुणस्तरहीन ईटा प्रयोगलाई तत्काल रोक्नुपर्छ । अन्यथा, निर्माण सामग्री प्रयोगमा वेतिथी हुन सक्नेछ ।

प्रकाशित मिति : पुष ५, २०७७ आईतबार  ७ : ५६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]